न्यूनतम सेवा मापदण्डमा गण्डकीकै पहिलो बन्यो गलकोट नगर अस्पताल

गण्डकी प्रदेशका आधारभूत अस्पतालहरूमा गलकोट नगर अस्पतालले ७१ अंकसहित न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ।

असार ७, २०८३

प्रकाश बराल

Galkot Nagar Hospital becomes the first in Gandaki to meet minimum service standards

What you should know

बागलुङ — गण्डकी प्रदेशका सबै नगर तथा आधारभूत अस्पतालहरुमा बागलुङको गलकोट नगर अस्पताल न्युनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा प्रथम भएको छ । तोकिएका सूचकको मूल्यांकनमा ७१ अंक ल्याएर गलकोट प्रथम भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।

गलकोट नगरपालिका ५ स्थित अस्पतालको सुशासन तथा व्यबस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र स्वासथ्य संस्था सहयोग व्यवस्थापन लगायतको सूचकमा अस्पतालले उक्त अंक पाएको हो । 

प्रदेश जनस्वास्थ्यको आयोजना, प्रदेश जनस्वास्थ्य केन्द्र पोखराको समन्वय र निक साइमन इन्स्चिट्युटको सहयोगमा सबै अस्पतालको अध्ययन गरिएको थियो । उक्त अध्ययनबाट गलकोट प्रथम भएको प्रदेश जनस्वस्थ्य कार्यालय बागलुङका निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

विशेषगरी आधारभूत सेवा दिनकालागि संस्थाको राम्रो र सुधार्ने पक्षलाई यो अध्ययनमा राख्ने गरिन्छ । सफ्टवेयर सूचकमा रहेर हरेकको नम्बर दिने व्यवस्था छ । सो आधारमा आउने अंक, सेवा प्रवाह समेतलाई हेरेर प्रथम छुट्टयाउने व्यवस्था छ । 

चार वर्षअघि स्थापना भएको यो अस्पतालमा दैनिक १ सय ५० देखि १ सय ८० जना सम्म बिरामीको उपचार गरिँदै आइएको छ । त्यसबाहेक अस्पतालमा दर्जनौं सेवा थपिएका छन् । 

गत असोजदेखि यो अस्पतालमा अपरेसनसहितको सुत्केरी सेवा पनि संचालनमा छ । गलकोट समाज युकेको सहयोगमा १२ लाख संकलन गरी फिजियोथेरापी कक्ष संचालन गरिएको छ भने अस्पतालमा पोष्टमार्टम सेवा समेत छ । प्रसूति सेवाकालागि पनि नियमित गर्भवतीहरु आउन थालेपछि यहाँ प्रसूति प्रतिक्षा घर बनाइएको छ ।  सेवाग्राही र आफन्तहरुले होटल खोज्न नपर्ने गरी तीनकोठे कुरुवा घर पनि बनाइएको हो । 

यहाँ सुत्केरी हुनुअघि गर्भवती र उनलाई सघाउने साथी समेत बस्न मिल्नेछ । कोठा सँगै खाना पकाउने सामाग्री, चुल्हो पनि छ । रातको समयमा आए पनि खाना पकाएर खान पाउने व्यवस्थासहित गलकोट नगरपालिका र यहाँ संचालित सम्बोधन परियोजनाले ४ लाख र नगरपालिकाले ८ लाख गरी १२ लाख खर्चेर भवन बनाइदिएको हो । यो अस्पतालमा गलकोट नगर बाहेक ताराखोला र बडिगाड गाउँपालिकासहित गुल्मीको मुसिकोट नगरपालिकाबाट पनि बिरामी आउने गर्छन् । अपरेसन गर्ने बिरामी पनि आउने भएपछि बिरामीको कुरुवा समेत आएर बस्न पाएका छन् ।

चालु वर्षको ८ महिनामा अस्पतालमा डेढ सय गर्भवतीले प्रसूति सेवा लिएका छन् भने ३७ जनाको अपरेसन समेत भएको छ । अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तीमा एक रात कटाएर घर फर्केका हुन् । कतिपयले यहाँ ७ दिनसम्म पनि बसेका छन् । 

४ लाख रुपैयाँ र नगरपालिकाले थप ८ लाख लगानी गरी १२ लाख रुपैयाँमा यो प्रतिक्षाघर बनेको हो । यहाँ तीन वटा परिवार एकैपटक बस्न मिल्ने गरी कक्ष बनाइएको हो । अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्ष डेढ सय बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully