धार्चे–५ माछाखोलामा प्रशासकीय भवनको काम अधुरो छाडेपछि गाउँपालिकाले विकोई–हेमन्त जेभीसँगको ठेक्का सम्झौता तोडेको छ।
गोरखा — प्रशासकीय भवनको काम अधुरै छाडेपछि धार्चे गाउँपालिकाले निर्माण कम्पनीसितको ठेक्का तोडेको छ ।
धार्चे–५ माछाखोलामा भवन निर्माणको जिम्मा लिएको कम्पनी विकोई–हेमन्त जेभीले तीन पटकसम्म म्याद थप हुँदा पनि निर्माण पूरा गर्न सकेको थिएन ।
काम अलपत्र बनेपछि गाउँपालिकाले जेठ १५ मा १५ दिनको समय तोकेर कम्पनीलाई स्पष्टीकरण माग गरेको थियो । तर समय सीमाभित्र निर्माण कम्पनीबाट भरपर्दो योजना र कार्यसम्पन्न गर्ने प्रतिवद्धता नभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) समेतको आधारमा गत बिहीबार गाउँकार्यपालिकाले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको जनाएको छ । ‘भवनको काम अघि नबढेपछि स्पष्टीकरण सोधेका थियौं, कुनै जवाफ आएन,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भने,‘कार्यपालिका बैठकबाट ठेक्का तोड्ने निर्णय गर्यौं, अब बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया सुरु हुन्छ ।’
२०७८ वैशाख ५ मा ठेक्का सम्झौता गर्दै धार्चेको प्रशासकीय भवन निर्माणको जिम्मा विकोइ–हेमन्त जेभी चितवनले लिएको थियो । २०७९ माघ २९ भित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको भवनको निर्माण तेस्रो पटक म्याद थप हुँदासम्म काम ५० प्रतिशत मात्र भएको छ ।
२०८० फागुनमा सक्ने गरी पहिलो पटक, २०८१ फागुनमा सम्पन्न हुने गरी दोस्रो पटक र २०८२ फागुनमा सम्पन्न हुने गरी तेस्रो पटक म्याद थप भएको थियो । म्याद थप भएको अवधिमा पनि भवन निर्माणको कुनै पनि कार्य नभएको गाउँपालिकाले जनाएको छ ।
ठेकेदारले भौगोलिक कठिनाई, यातायातको असुविधा जस्ता कारण देखाउँदै कामबाट पन्छिने गरेको गाउँपालिकाले जनाएको छ । आफ्नै भवन नहुँदा धार्चे गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।
