सहिद लखनमा १० विद्यालय गाभियो

गाउँपालिकाले १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेको हो ।

असार ७, २०८३

हरिराम उप्रेती

10 schools merged in Shahid Lakhan

What you should know

गोरखा — सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका १० विद्यालय समायोजन (मर्ज) गरेको छ । जेठ २२ को गाउँकार्यपालिका बैठकले विद्यालय मर्ज गर्ने निर्णय गरेको हो । 

न्यून विद्यार्थी संख्या भएको विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, भौतिक तथा मानवीय स्रोतसाधनको ब्यवस्थापन गर्न र विद्यालय सञ्चालन खर्चलाई मितब्ययी बनाउन विद्यालयलाई मर्ज गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । 

सहिद लखन–१ बक्राङको लक्ष्मी आधारभूत र इन्द्र आभारभूतलाई महेन्द्र शक्ति माविमा, सहिद लखन–४ को सहिद सन्देश आविलाई महारुद्र आविमा, सहिद लखन–६ को चन्द्रकला आविलाई भगवती हिमालय माविमा समायोजन गरिएको छ ।

त्यस्तै वडा ६ को दुर्गा आविलाई वडा ५ को जलदेवी माविमा, वडा ६ कै जलकन्या आविलाई चण्डीका आविमा, मण्डली आविलाई हिमालय माविमा समायोजन गरिएको छ । त्यस्तै वडा ९ को कालिका अमरज्योती आविलाई  भीमसेन आविमा, जलदेवी आविलाई जनशक्ति माविमा तथा वडा ८ को दाहाले आविलाई रामेश्वरी माविमा समायोजन गरिएको खनालले जानकारी दिए ।

‘प्रारभ्भिक शिक्षालाई निरन्तरता दिनका लागि समायोजन भएको विद्यालयको मातहतमा रहने गरी हाल सञ्चालित स्थान र कक्षामा बालकक्षा साविक बमोजिम नै संचालनको ब्यवस्था मिलाएका छौं,’ उनले भने,‘मर्ज भएको विद्यालयको इकाईको रुपमा बाल कक्षा संञ्चालन हुन्छ ।’ 

मर्ज भएका विद्यालयको चलअचल सम्पत्ति, विद्यालय सञ्चालन सम्बन्धी कागजात, विद्यार्थी अभिलेखलगायतका सामाग्री पनि समायोजन भएको मुख्य विद्यालयलाई बुझाउन गाउापालिकाले आग्रह गरेको छ । १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयहरुलाई मर्ज गरिएको पनि खनालले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully