पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, चालु खर्चमै ५५ प्रतिशत

कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

असार ५, २०८३

दीपक परियार

Pokhara Metropolitan City's budget is 7.15 billion 2.52 billion, 55 percent of which is on current expenses

What you should know

पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । शुक्रबार १९औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले आगामी वर्षका कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यसमध्ये २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ ससर्त अनुदान, ५ करोड ५० लाख रुपैयाँ विशेष अनुदान, १ करोड ८२ लाख रुपैयाँ समपूरक अनुदान तथा ४९ करोड ३७ लाख रुपैयाँ समानीकरण अनुदान रहनेछ । 

प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने अनुमान गरिएको छ । यसमा ८ करोड १५ लाख ३६ हजार रुपैयाँ समानीकरण अनुदान, ६० लाख रुपैयाँ समपूरक अनुदान र ४० लाख रुपैयाँ विशेष अनुदान समावेश छन् । 

महानगरले आन्तरिक तथा राजस्व बाँडफाँडबाट ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुटाउने लक्ष्य लिएको छ । यसमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँडबापत ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ, स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

महानगरले प्रस्तुत गरेको बजेटमा प्रशासनिक तथा सेवा प्रवाहसँग सम्बन्धित चालु खर्चको हिस्सा पूँजीगत खर्चभन्दा बढी राखिएको छ । कुल बजेटको ५५.१ प्रतिशत चालु खर्चमा विनियोजन हुँदा ४४.९ प्रतिशत मात्र विकास निर्माण तथा पूँजीगत कार्यक्रमका लागि छुट्याइएको छ ।

उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका उद्देश्य तथा प्राथमिकता कार्यान्वयन गर्न संघ, प्रदेश र महानगरको आन्तरिक स्रोतलाई आधार मानेर बजेट तयार गरिएको बताइन् । बजेट नगरसभाबाट छलफलपछि पारित गरिनेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully