खरखरेमा पहिरो, बेंसीसहर–चामे सडक अवरुद्ध

बेंसीसहरबाट करिव साढे ३ किलोमिटरको दूरीमा पर्ने उक्त सडक खण्डमा शुक्रबार बिहान साढे ६ बजे ठूलो पहिरो खसेको हो ।

असार ५, २०८३

आश गुरुङ

Landslide in Kharkhar, Besisahar-Chame road blocked

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका–६, खरखरेमा पहिरो खस्दा हिमाली जिल्ला मनाङ आवतजावत गर्ने  एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

यस सडकले लमजुङकै मर्स्याङ्दी गाउँपालिकालाई पनि जोड्छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बिहिबार राती परेको भीषण वर्षाका कारण पहिरो खसेको प्रहरीले जनाएको छ । 

बेंसीसहरबाट करिव साढे ३ किलोमिटरको दूरीमा पर्ने उक्त सडक खण्डमा शुक्रबार बिहान साढे ६ बजे ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले पहिरोका कारण करिव ५० मिटर सडक क्षतिग्रस्त भएको बताए । 

पहिरो खसे लगत्तैदेखि डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका २ वटा मेशिनले पहिरो पन्छाउने काम भइरहेको छ । सडक आयोजनाका सवइन्जिनियर सुमन अधिकारीले बेंसीसहरतर्फबाट एक्साभेटर र मनाङतर्फको उत्तरी लमजुङबाट ब्याक्होलोडरले पहिरो पन्छाउने काम गरिरहेको बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ । यति नै समय लाग्छ भन्ने अवस्था छैन,’ उनले भने, ‘दिउँसोसम्म खुलाउने प्रयासमा छौं ।’ यस खण्डमा बिहिबार पनि पहिरो खसेपछि करिब दुई घन्टा सडक अवरुद्ध भएको थियो । 

पहिरोका कारण बेंसीसहर–घलेगाउँ सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक क्षेत्रीले बेंसीसहर–९ मा पर्ने पुमाभीरमा पहिरो खसेको बताए । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully