गोरखा दरबारको दानपेटिकाबाट २२ लाखभन्दा बढी भेटी संकलन, कार्यविधि नबन्दा खर्च गर्न समस्या

हाल दरबारका दुई कर्मचारी र प्रशासनले तोकेको प्रतिनिधिको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने गरिएको छ ।

असार ४, २०८३

हरिराम उप्रेती

Over 2.2 million offerings collected from Gorkha Durbar's donation box, problems in spending due to lack of procedures

गोरखा — गोरखा दरबार क्षेत्रमा रहेका दुईवटा दानपेटिकामा ३ लाख ५५ हजार आठ सय २० रुपैयाँ संकलन भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरबार हेरचाह अड्डाको रोहवरमा दरबारस्थित गोरखकाली मन्दिरमा रहेको दानपेटिका खोलिएको हो ।

२०८२ माघयता दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको गोरखा कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए । 

दानपेटिकामा जम्मा भएको भेटी बैंक खातामा जम्मा गर्ने गरिएको छ । ‘यसअघि १८ लाख ६६ हजार १ सय २५ रुपैयाँ दानपेटिकाको भेटी बैंकमा जम्मा गरिसकेका छौं,’ उनले भने, ‘यसपटक संकलित भेटी पनि जम्मा गर्छौं ।’

कार्यविधि नहुँदा संकलित भेटी खर्च गर्न समस्या भएको उनले बताए । जम्मा भएको रकम पर्व पूजा, सरसफाइ लगायतका विशेष कार्यमा खर्च गर्ने कार्यविधि बने सहज बन्ने उनको भनाइ छ ।

हाल गोरखा दरबारका दुई कर्मचारी र प्रशासनले तोकेको प्रतिनिधिको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने गरिएको छ । ‘पुरातत्व विभागले कार्यविधि बन्छ भनेको गत व र्षबाटै हो, अझै आएको छैन,’ भट्टराईले भने, ‘कुनै आकस्मिक काम परे पनि रकम खर्च गर्न पाएनौं, कार्यविधि भएको भए अप्ठ्यारो ठाउँमा खर्च गर्न सकिन्थ्यो ।’

संस्कृति मन्त्रालयको पुरातत्व विभागले  कार्यविधि निर्माणका लागि कार्यदल बनाएको जानकारी आएको उनले बताए । गोरखकाली मन्दिर क्षेत्रमा २०६६ सालबाट दुईवटा दान पेटिका राखेर भेटी संकलन हुँदै आएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully