मुग्लिन–पोखरा सडक विस्तारः मादी पुलको ८५ प्रतिशत प्रगति

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेन पुलको ८५ प्रतिशत काम भएको छ ।

असार २, २०८३

सम्झना रसाइली

Muglin-Pokhara road expansion: 85 percent progress on Madi Bridge

तनहुँ — मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँमा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति भने ८१.२ प्रतिशत रहेको जनाइएको छ । 

हाल दुवैतर्फको फाउण्डेसनको काम सकिएर नेटवर्क आर्चको काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘यो निर्माणाधीन पुलमा जम्मा ६ वटा स्पान छन् ।त्यसमध्ये बीचको दुईवटा स्पानमा नेटवर्क आर्चको काम भइरहेको छ’, उनले भने, ‘एकतिरको कंक्रिट नेटवर्क आर्च बनिसकेको छ । अब त्यसलाई लोड दिएर स्ट्रेसिङ गरी टेका फुकाउने काम हुन्छ भने अर्को आर्चको काम पनि भइरहेको छ ।’

उक्त पुल निर्माणका लागि विसं २०७९ साउनमा सम्झौता भएको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकोमा गत भदौ २१ मा ठेक्काको म्याद सकिएपछि आगामी २०८३ असार १९ सम्मका लागि म्याद थप भएको थियो । थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसायीले दोस्रो पटक म्याद थपका लागि निवदेन दिएको उनले बताए । 

निर्माणधीन पुल ३१५ मिटर लामो र २३ मिटर चौडाइको हुनेछ । १ अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully