पालुङटारमा आधारभूत अस्पताल संचालन

गाइखुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालको रूपमा सेवा सञ्चालन गरिएको हो।

असार २, २०८३

हरिराम उप्रेती

Basic hospital operation in Palungtar

गोरखा — पालुङटार नगरपालिका–६ स्थित गाइखुर स्वास्थ्य चौकी भोटेकाटेलाई स्तरोन्नति गर्दै नगर स्तरीय आधारभूत अस्पतालको सेवा प्रारम्भ गरिएको छ । 

नगर स्तरीय आधारभूत अस्पतालको नगरप्रमुख विवश चिन्तन र उपप्रमुख वन्दना पाण्डेले उद्घाटन गरे । 
नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउने उद्देश्यका साथ भोटेकाटेको स्वास्थ्य संस्थालाई आधारभूत अस्पतालको रुपमा विकास गरिएको हो । 

अस्पतालमा मेडिकल अधिकृतसहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी ब्यवस्थापन गरिएको छ । अस्पतालबाट ५ देखि १० नम्वर वडाका स्थानीय लाभान्वित हुने सिनियर अहेब रामलाल श्रेष्ठले बताए । ‘अस्पतालमा अहिले ७ बेड छ, थपेर १५ बेडसम्म पुर्‍याउने योजनामा पनि छौं,’ उनले भने ।

अस्पतालबाट ओपिडी, ल्याब, एक्सरेलगायतका सेवा प्रवाह हुने उनले बताए । नगरप्रमुख चिन्तनले अस्पतालबाट नगरवासीले निःशुल्क तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully