रास्वपा गण्डकी अध्यक्षमा त्रिपाठी

अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निवर्तमान महामन्त्री समेत रहेका त्रिपाठी पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।

जेष्ठ ३०, २०८३

दीपक परियार

Tripathi elected as RSVP Gandaki President

What you should know

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको पहिलो अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार राति अबेर सम्पन्न मतदानमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निवर्तमान महामन्त्री समेत रहेका त्रिपाठी पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् । कुल खसेको मतमध्ये त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एवं यसअघिका प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य राजन गौतमले १ सय ८२ मत मात्र पाए ।

अध्यक्षका अन्य उम्मेदवारहरू माधवप्रसाद कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गरे । कँडेल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार थिए भने कार्की वैकल्पिक राजनीति र शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । आकांक्षीहरूबीच सर्वसम्मतिको प्रयासका कारण निर्धारित निर्वाचन तालिका प्रभावित हुँदा मतदान कार्य राति ११ बजे मात्र सुरु भएको थियो ।

प्रदेश कार्यसमितिको सदस्यतर्फ कुल ५१ जनाले उम्मेदवारी दिएकोमा विभिन्न क्लस्टरसहित ३३ जना निर्वाचित हुने व्यवस्था छ । जसमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको थियो, जसबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका लागि १/१ जना निर्वाचित हुन्छन् ।

त्यस्तै, समावेशी प्रदेश सदस्यतर्फका २३ जना उम्मेदवारमध्येबाट १५ जना निर्वाचित हुने प्रावधान छ । कुल ५१ आकांक्षीमध्ये १२ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन् । क्षेत्रगत सदस्यतर्फ बागलुङ–१ बाट मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध चयन भएका हुन् ।

समावेशी प्रदेश सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपांगता भएका खसआर्य क्लस्टरबाट यदुनाथ सिग्देल निर्विरोध चयन भएका छन् ।

निर्विरोध निर्वाचित भएपछि बाँकी रहेका ३९ जना उम्मेदवारहरूबीच २१ सदस्यका लागि प्रतिस्पर्धा भएको थियो । कुल ७ सय ८० प्रतिनिधि सहभागी रहेको यस अधिवेशनबाट चुनिएको प्रदेश समितिले विधान अनुसार थप ४ जना सदस्यहरू पछि मनोनित गर्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully