मनाङमा ४० हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

अख्तियारका अनुसार जग्गा रोक्कासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जेष्ठ ३०, २०८३

आश गुरुङ

Naib Subba arrested with Rs 40,000 bribe in Manang

लमजुङ — भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुससहित शनिबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका सूचना अधिकारीसमेत रहेका उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियारका अनुसार जग्गा रोक्कासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उजुरीका आधारमा निगरानी गरिरहेको अख्तियारको टोलीले घुस रकम बुझ्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कण्डेललाई आवश्यक अनुसन्धानका लागि पोखरा ल्याउने तयारी गरिएको छ । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully