छोरीप्रतिको सकारात्मक सोच विकास तथा गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।
म्याग्दी — अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।
छोरीप्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्द्धन, गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन भएको बताइन् । उक्त कार्यक्रममार्फत २०८२ साउनयता जन्मिएका छोरीका अभिभावकलाई १२ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने उनको भनाइ छ ।
'छोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ,' उनले भनिन्, 'छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार २०८२/८३ मा विनियोजित बजेटमार्फत कार्यक्रम कार्यान्वयन थालिएको छ ।'
छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्याउनु रहेको जनाइएको छ ।
सो कार्यक्रमअन्तर्गत २०८२ साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।
