बिरामीको चाप बढेपछि धौलागिरी अस्पतालमा डायलसिस सेवा विस्तार

अस्पतालले २० लाख लगानीमा कक्ष विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

जेष्ठ २९, २०८३

प्रकाश बराल

Dialysis service expanded at Dhaulagiri Hospital due to increased patient load

बागलुङ — धौलागिरी अस्पतालमा दैनिक चाप बढेपछि डायलसिस सेवा विस्तार भएको छ । दैनिक ६४ जनालाई सेवा दिइरहेको अस्पतालले थप २० जनालाई सेवा दिने गरी कक्ष विस्तार गरेको हो ।

नियमित डायलसिस गर्नेबाहेक झन्डै २० देखि ३० जना लाइनमा बस्नुपर्ने, कतिपयले सेवा नपाएर पोखरा र निजी अस्पताल धाउनुपर्ने बाध्यता भएपछि अस्पतालले २० लाख लगानीमा कक्ष विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार हालको डायलसिस कक्षलाई पनि फराकिलो बनाउने काम भरहेको छ । मिर्गौलाका बिरामी बढ्दो दरमा देखिएपछि सेवा विस्तार गर्ने योजना बनाएको अस्पताललाई गण्डकी प्रदेश सरकारले कक्ष बनाउने रकम उपलब्ध गराएको हो । 

तत्कालका लागि हालको कक्षमाथि जस्ता र आलुमुनियम प्रयोग गरेर सेवा विस्तार गरिएको अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले बताए । अस्पतालमा बेड आवश्यकताअनुसार पुग्ने र कम्तीमा ५ देखि ६ वटा मेसिन गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएपछि सेवा विस्तार गरिएको उनको भनाइ छ ।

२ सय शय्याको बनाउने अभियानस्वरुप १ सय ५० बेड सञ्चालनमा आइसकेको शर्माले जानकारी दिए ।  

अस्पतालमा तीनवटा भवन छन् । ती भवनले नपुगेपछि पुरानो भवनको ल्याब सहितका भवन उपयोग गरेर डायलसिस सेवा सञ्चालनमा ल्याइएको थियो । कम्तीमा ६ मेसिन थप गरेपछि अझै सहज हुने शर्माले जानकारी दिए ।

धौलागिरि अस्पतालमा विशेषज्ञ चिकित्सकसहित अपरेसन सेवा पनि नियमित छ । यहाँ बर्सेनि ५० भन्दा बढी सर्पदंशका बिरामी, ४ सयभन्दा बढी डेंगीका बिरामी र हरेक दिन ८० बढी डायलसिस गर्नुपर्ने बिरामीको उपचार भइरहेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully