शीर्ष दुई प्रतिस्पर्धीमध्ये भोलानाथ शर्मा पुनः मतदानमा नगएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
लमजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गरिएको थियो । तर शीर्ष दुई प्रतिस्पर्धीमध्ये भोलानाथ शर्माले पुनः मतदान हुनुअघि चुनावी प्रक्रिया छोडेपछि आइतबार राती सम्पन्न अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनमा कुल २ सय १६ प्रतिनिधिमध्ये १ सय ७६ जनाले मतदान गरेका थिए । सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सापकोटाले ६९ मत र शर्माले ४९ मत पाएका थिए । शर्माले पार्टीभित्र गुटबन्दी हुन नदिन आफूले त्याग गरेको बताए । ‘पार्टी सबैभन्दा ठूलो हो । पार्टीभित्र विभाजन र गुटबन्दी हुन दिन हुँदैन भन्ने सोचका साथ मैले पुनः मतदान प्रक्रिया त्यागेको हुँ’ उनले भने ।
अधिवेशनबाट उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले निर्वाचित भए । साथै, सदस्यहरूमा सविता अधिकारी, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भएका हुन् ।
