पालिकाले प्रतिघर न्यूनतम् २ सय ५० रुपैयाँ वार्षिक सम्पत्ति कर लिने र सोही रकबाट बिमाको व्यवस्थापन गरिने भएको हो ।
What you should know
गोरखा — भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै घरधुरीको बिमा गर्ने भएको छ । नागरिकका निजी आवासलाई प्राकृतिक प्रकोप तथा अन्य जोखिमबाट सुरक्षित राख्ने उद्देश्यका साथ घरको सामूहिक बिमा गर्न थालिएको हो ।
सोमबार गाउँपालिकाको प्रशासकीय भवनको बिमा गरेर औपचारिक रूपमा निजी घरधुरी र सरकारी तथा गैरसरकारी भवनहरूको बिमा गर्ने कार्यको सुरुवात गरिएको हो। भीमसेन थापा गाउँपालिका र राष्ट्रिय बिमा कम्पनीबीच घरधुरी र भवनहरूको बिमा गर्न समझदारी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले बताए ।
‘सोमबार प्रशासकीय भवनको बिमा गरेर औपचारिक सुरुवात गर्यौं,’ उनले भने, ‘गाउँपालिकाका सबै घरधुरीलाई वडा कार्यालयमा गएर यो सुविधा लिन आग्रह गरेका छौं, अब पालिकाभरिका सबै घरधुरी र भवनको बिमा हुन्छ ।’ बिमापछि विपद् जोखिम वा अनिश्चिततामा पनि सुरक्षा, भरोसा र राहत सुनिश्चित हुने उनले बताए ।
‘बुढीगण्डकी डुबान क्षेत्र तथा सडक मापदण्डबाहेक निजी जग्गामा बनेका आवासीय तथा व्यावसायिक घरहरूको एकमुष्ट बिमा हुन्छ,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘हाम्रो प्रारम्भिक अनुमानमा ३ हजार ५ सय घरको बिमा हुन्छ भन्ने लक्ष्य छ ।’ प्रतिघर न्यूनतम् २ सय ५० रुपैयाँ वार्षिक सम्पत्ति कर लिने र सोही रकबाट बिमाको व्यवस्थापन गरिने पनि अधिकारीले बताए । गाउँपालिकामा बाढीपहिरो तथा हावाहुरीले घरको छाना उडाउने समस्या पनि रहँदै आएको छ ।
प्रत्येक बिमित घरहरूको क्षतिको मूल्याङ्कनका आधारमा बढीमा ४ लाख बराबरको घर बिमा प्राप्त गर्न सकिने पनि जनाइएको छ । राष्ट्रिय बिमा कम्पनीसँगको सम्झौताअनुसार भीमसेन थापा गाउँपालिकाभित्र सूचीकृत घरधनीको नाममा बिमालेख जारी गरिनेछ । बिमालेखको सर्त र सुविधा सम्पत्ति बिमा निर्देशन, २०८० बमोजिम हुने सम्झौतामा उल्लेख छ ।
उक्त निर्देशनमा व्यवस्था भएबमोजिमका आगलागी, चट्याङ, आँधीहुरी, भूकम्पीय क्षति, बाढीपहिरो लगायतका जोखिमको रक्षावरण हुने सम्झौतामा उल्लेख छ । इँटा र सिमेन्टले बनेका ढलान घरहरू र भूकम्पपछि निर्माण भएका ढुङ्गा, इँटा, माटोका घरहरू बिमालेखअन्तर्गत समावेश हुने उनले बताए । पूर्ण अस्थायी (काठ, टिन, माटो)ले बनेका घरहरू, बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका घरहरू, ऐलानी तथा सडक मापदण्डभित्रका घरहरू भने बिमामा समावेश नगरिने गाउँपालिकाले जनाएको छ ।
निर्माणको त्रुटि, संरचनात्मक कमजोरी तथा मर्मतको अभावका कारणले भएको क्षतिको दाबीमा भने भुक्तानी नहुने सम्झौतामै उल्लेख रहेको अधिकारीले बताए ।
