बुढीगण्डकी परियोजनाको काम यसैवर्ष ठोस निर्णय भएर अघि बढ्ने बुर्लाकोटीले बताए ।
What you should know
गोरखा — रास्वपा महामन्त्री तथा प्रतिनिधिसभा सांसद कविन्द्र बुर्लाकोटीले गोरखकाली रबर उद्योग संचालन हुनेमा आफू पूरा विश्वासमा रहेको बताएका छन् ।
रास्वपा गोरखाको अधिवेशनमा सम्बोधन गर्दै उनले टेक्नोलोजी परिवर्तन गरेर उद्योग संचालनको संभावना रहेको अध्ययन टोलीले प्रतिवेदन बुझाइसकेको बताए । ‘उद्योग संचालनका लागि टेक्नोलोजी चेन्ज गर्नुपर्ने रहेछ, पहिले उद्योग संचालन गर्न दुई अर्ब लाग्ने सुनेको थिएँ,’ उनले भने,‘टेक्नोलोजी ट्रान्सफर्मर गरेर जाँदा चार अर्ब जति लाग्छ भन्ने रिपोर्ट मेरो हातमा छ, यो रिपोर्ट प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिइसकेँ, उद्योगमन्त्रीलाई दिन बाँकी छ, रिपोर्ट हेर्दा प्राइभेट सेक्टरले लगानी गरेर जान सक्ने सम्भावना उच्च छ ।’
उद्योग चलाउन निजी क्षेत्र इच्छुक बनेकाले उद्योग चल्न सक्नेमा आफू पूरा विश्वासमा रहेको उनले बताए । ‘घाटा लागे पनि अर्को वर्ष सरकारले नै बजेट हालेर भए पनि उद्योग चलाउनुपर्छ भन्न खोजेका हौं,’ उनले भने, ‘उद्योग नाफामा जानुपर्छ, संचालन हुनुपर्छ, त्यो उद्योगलाई अघि बढाउने सन्दर्भमा काम गर्नुपर्छ, सरकारले चलाओस् वा निजी क्षेत्रले उद्योग चलाउनुपर्यो, गोरखालीले केही न केही रोजगारी पाउनुपर्यो ।’
उद्योग संचालन गरेर गोरखकालीका टायर हरेक गाडीमा गुडेको देख्न पाउनुपर्ने उनले बताए । ‘रबर उद्योगका टायर हरेक गाडीमा गुडेको देख्न पाउनुपर्यो, हाम्रो सान हाम्रो टायर हुनुपर्छ भन्नेमा ढुक्क छौं,’ उनले भने ।
देशभर पाँच वर्षमा दुई हजार उद्योग खोल्ने आफ्नो पार्टी र सरकारको योजना रहेको पनि उनले सुनाए । ‘सरकारको लगानीमा, सरकार र निजी क्षेत्रको साझेदारीमा वा निजी क्षेत्रको लगानीमा दुई हजार उद्योग खोल्ने सपना देखेका छौं, त्यो मध्ये २०/३० उद्योग गोरखामा पनि खुल्छन्,’ उनले भने । त्यस्तै बुर्लाकोटीले बुढीगण्डकी परियोजना यसैवर्ष ठोस निर्णय भएर अघि बढ्ने बताए ।
