५ दिनको अन्तरालमा नेक ब्लास्ट रोगको तीव्र फैलावटले चैते धान खेती सखाप बनेको छ ।
What you should know
गोरखा — मरुवा (नेक ब्लास्ट) र गवारो रोगले गोरखामा भित्र्याउने बेलाको चैते धानमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार ३५ रोपनी बढी क्षेत्रफलको चैते धानमा नेक ब्लास्ट र गवारो देखिएको हो ।
एक साताअघि देखिएको नेक ब्लास्ट तीव्र रुपमा फैलिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए । ‘५ दिन जति भयो मरुवा रोग तीव्र रुपमा फैलिएको छ, आज हरियो देखिएको धानको बाला भोलीपल्ट पहेंलो भएर फुस्रो हुँदै दाना नै नलाग्ने गरेर फैलिएको छ,’ उनले भने ।
मरुवाले झुलेका धानका बालाको घाँटी कुहिने र दाना फुस्रो हुने समस्या देखिको उनले बताए । गवारो किराले भने पानी सँगैको डाँठ खाएर क्षति पुर्याउने गरेको छ । ‘अघिल्ला वर्षमा पनि गवारोको समस्या त देखिन्थ्यो, २५ देखि ३० प्रतिशत धान बाली गवारोले क्षति पुगेको रेकर्ड अघिल्ला वर्षमा पनि छ,’ पौडेलले भने,‘यस वर्ष गवारोसागै मरुवा रोग देखियो, ५ दिन जतिमा ३५ सय रोपनी धान बाली पूर्णरुपमा नष्ट भइसकेको छ ।’ नेक ब्लास्ट रोगले धान झुले पनि दाना फुस्रो बनेर भुस मात्र हुने गरेको किसानहरु बताउँछन् ।
गोरखा नगरपालिका–१० र ११ दरौदी, सिर्दि, सिरानचोक–४को भुसुण्डे, भीमसेन थापा–१ को निबेल, पालुङटार–१ को दरौदी, गोरखा नगरपालिका–८ को लुदिखोला फाँटमा गवारो र मरुवा रोगले चैते धान बाली नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ । गोरखामा ७४० देखि ८ सय हेक्टरमा चैते धान खेती हुँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले पनि खाद्य सुरक्षाका लागि चैते धान प्रबर्द्धन कार्यक्रम संचालन गर्दै आएको छ । गवारो र मरुवा रोगको प्रकोप फैलिएपछि प्रदेश कृषि प्रयोगशाला पोखराको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर परीक्षणका लागि नमुना पनि लगेका छन् ।
प्राविधिक टोलीले पनि नेक ब्लास्ट र गवारो रोगले धानबाली नष्ट गरेको प्रारभ्भिक अनुमान गरेको छ । ‘परीक्षणको प्रतिवेदन आइसकेको छैन,’ उनले भने,‘रोग नियन्त्रणका लागि ट्राइ साइक्लाइजोल भन्ने विषादी वितरण गरेका छौं, तर प्रभावकारी देखिएन ।’
प्रकोप बढेपछि शुक्रबार गण्डकी प्रदेशको कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पनि स्थलगत निरीक्षणमा आएका थिए । रोगको फैलावट नियन्त्रण गर्न नसके बर्खे धानमा पनि फैलन सक्ने जोखिम बढेको पौडेलले बताए । ‘अब १५/२० दिनमा बर्खे धान रोपाइँ सुरु हुन्छ, यो रोगले चैते धानमा पूर्ण क्षति भइसक्यो, बर्खे धानमा पनि सरे खाद्यान्न अभावको जोखिम पनि बढ्न सक्छ,’ उनले भने,‘यसलाई बेलैमा नियन्त्रण गर्न प्रयासरत छौं ।’
