पोखरामा शनिबार सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा तीव्र प्रतिस्पर्धाका बीच यदुनाथ अधिकारी आफ्ना निकटतम् प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पछाडि पार्दै सभापतिमा चुनिएका हुन् ।
पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा तीव्र प्रतिस्पर्धाका बीच अधिकारी आफ्ना निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेलाई मात्र १ मतको पछाडि पार्दै सभापतिमा चुनिएका हुन् ।
निर्वाचनमा विजयी अधिकारीले १ सय १५ मत प्राप्त गर्दा पराजित न्यौपानेले १ सय १४ मत मात्रै पाए । कुल २ सय ९० जना मतदाता रहेको रास्वपा कास्कीमा शनिबारको मतदानमा २ सय ३३ मत खसेको थियो, जसमध्ये ४ जना मतदाताले भने कसैलाई पनि मत दिएनन् ।
अधिवेशनबाट पार्टीको जिल्ला सचिव पदमा विश्वराज पौडेल विजयी भएका छन् । पौडेलले १ सय २२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १ सय ६ मतमा चित्त बुझाउनु पर्यो । जिल्ला कार्यसमितिको उपसभापतिमा चिनबहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्ष पदका लागि भने यस अधिवेशनमा निर्वाचन नगरिएको र आगामी दिनमा जिल्ला समितिले आवश्यक निर्णय गरी मनोनयन गर्ने भएकाे छ ।
जिल्ला कार्यसमितिको सदस्य चयनका क्रममा भने केही पदमा निर्विरोध र केहीमा मतदान प्रक्रिया अपनाइएको थियो । १० सदस्यीय जिल्ला कार्यसमितिमा केही सदस्य सर्वसम्मत रूपमा निर्विरोध चयन भएका थिए भने बाँकी चार सदस्य पदका लागि चुनाव नै गराउनु परेको थियो । उक्त चार सदस्य पदका लागि १० जना आकांक्षी चुनावी मैदानमा उत्रिएका थिए ।
