गाउँपालिकाले १५ दिनभित्र निर्माण सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने योजनासहित उपस्थित हुन ठेकेदारलाई आग्रह गरेको छ ।
What you should know
गोरखा — धार्चे गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अलपत्र परेको छ । सम्झौता अवधिभित्र काम नगरेको ठेकेदार कम्पनी विकोई–हेमन्त जेभीले तीन पटकसम्म म्याद थप हुादा पनि निर्माण पूरा गर्न सकेको छैन । धार्चे–५ माछाखोलामा प्रशासकीय भवन निर्माणको काम सुरु भएको थियो ।
एक वर्षयता निर्माण कम्पनीका प्रतिनिधिनै निर्माणस्थलमा नआएको धार्चे गाउापालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम वस्नेतले बताए । ‘१५ दिनभित्र काम गर्ने स्पष्ट कारणसहित आउन सार्वजनिक सूचना जारी गरेका छौं,’ उनले भने,‘यसअघि पटक/पटक ताकेता गर्दा पनि काम हुन सकेन, भवन निर्माण अलपत्र छ, पछिल्लो समय एक वर्षदेखि ठेकेदार कम्पनीका कामदार फिल्डमा पनि छैनन् ।’
२०७८ वैशाख ५ मा ठेक्का सम्झौता गर्दै धार्चेको प्रशासकीय भवन निर्माणको जिम्मा विकोइ–हेमन्त जेभी चितवनले लिएको थियो । २०७९ माघ २९ भित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवनको निर्माण तेस्रो पटक म्याद थप हुादा सम्म अलपत्र अवस्थामा छ । समयमै निर्माण सम्पन्न नभएपछि २०८० फागुन २९ मा सक्ने गरी पहिलो पटक, २०८१ फागुन २९ मा सक्ने गरी दोस्रो पटक र २०८२ फागुन २९ मा सक्ने गरी तेस्रो पटक म्याद थप भएको थियो । म्याद थप भएको अवधिमा पनि भवन निर्माणको कुनै पनि कार्य नभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले १५ दिनभित्र निर्माण कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने योजना, स्रोत परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिवद्धतासहित उपस्थित हुन कम्पनीलाई आग्रह गरेको छ ।
कार्य सुचारु गर्ने तदारुकता नदेखाए सार्वजनिक खरिद ऐन, २०६४ को नियम १२८ बमोजिम अघि बढ्ने गाउँपालिकाको चेतावनी छ । भवन निर्माणको ५० प्रतिशत काम भएको बस्नेतले बताए । ठेकेदारले भौगोलिक कठिनाई, यातायातको असुविधा जस्ता कारण देखाउादै कामबाट पन्छने गरेको गाउापालिकाले जनाएको छ । ‘१५ दिनभित्र कारणसहित सम्पर्कमा आउन भनेका छौं, अब पनि काम नभए नियमानुसार अघि बढ्छौं,’ उनले भने । गाउँपालिकाले प्रशासकीय भवन अलपत्र पार्ने ठेकेदार कम्पनीको ठेक्का प्रक्रिया तोड्ने प्रक्रिया सुरु गरेको हो । आफ्नै भवन नहुँदा धार्चे पालिकाले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।
