एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ६ जना घाइते

म्याग्दे–६ मनहरी भएको दुर्घटनामा घाइते ६ जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

जेष्ठ २१, २०८३

सम्झना रसाइली

6 injured in ambulance-mini truck collision

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान ६:२० बजे एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । म्याग्दे–६ मनहरी भएको दुर्घटनामा घाइते ६ जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । 

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय कुशल परियार, सोही स्थानकी ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अञ्जना बुढा मगर, ३ वर्षीय युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्ती र रोल्पाको थवाङ गाउँपालिका–२ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगर घाइते भएका छन्।

घाइतेमध्ये चालक परियार र जुनराखी बुढा मगरको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटामा उपचार भइरहेको छ । अञ्जना बुढा मगरको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अञ्जनासहित युवान बुढा मगर, चिजमाया घर्ती र धनप्रसाद बुढा मगरको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।

दुर्घटनामा मिनी ट्रकका चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट पनि घाइते भएका छन् । उनको चोटपटक सम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully