मनाङको खोत्रोमा पाइप बोकेको ट्रक दुर्घटनापछिको विरोधमा स्थानीयले चिनोखोला जलविद्युत् आयोजनाका मालवाहक सवारीसाधन रोक लगाएका छन् ।
लमजुङ — मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पाइप बोकेको ट्रक दुर्घटनामा परेपछि स्थानीय बासिन्दाले निर्माणाधीन चिनोखोला जलविद्युत् आयोजनाका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
शनिबार बिहान करिब सवा ९ बजेतिर रसुवाबाट आयोजनाका लागि पाइप बोकेर मनाङतर्फ जाँदै गरेको लु २ ख १८८ नम्बरको ट्रक खोत्रो उकालो चढ्ने क्रममा सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
बेंसीसहर–चामे सडक अन्तरगत पर्ने उक्त सडक दुर्घटनामा परेर ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ निवासी ३२ वर्षीय गंगा लाम्गाती र ट्रकमा सवार नासोँं गाउँपालिका–१ का ६८ वर्षीय सूर्यबहादुर गुरुङ घाइते भएका मनाङ प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयले उनीहरूलाई उद्धार गरी नासोँं गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि लमजुङको बेंसीसहरस्थित प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले सडक साँघुरो भएका कारण पटक–पटक दुर्घटना दोहोरिएको भन्दै विरोध जनाउँदै जलविद्युत् आयोजनाका सवारी साधन रोकेका वडाध्यक्ष नीलराम गुरुङले बताए ।
उनका अनुसार कम्तीमा ५ वटा सवारी साधन रोकिएका छन् । प्रहरीका अनुसार करिब २० देखि २५ जना स्थानीय भेला भई जलविद्युत् आयोजनाले सडक फराकिलो र सुरक्षित नबनाएसम्म आयोजनाका मालवाहक सवारी सञ्चालन गर्न नदिने अडानमा बसेका छन् ।
मनाङको नासोँँ गाउँपालिका–३ खोत्रोमा दुर्घटना भएको ट्रक । तस्बिरः कान्तिपुर
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहका अनुसार स्थानीयको विरोधपछि आयोजनासँग सम्बन्धित केही मालवाहक सवारी रोकिएका छन् । स्थानीयवासी र सम्बन्धित पक्षबीच समस्या समाधानका लागि छलफल भइरहेको उनले बताए ।
अहिले ट्रक दुर्घटना भएको स्थानमा ६ वर्षअघि भएको ट्रक दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । त्यसयता उक्त सडक खण्ड फराकिलो र सुरक्षित बनाउन माग गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासोँ छ ।
