शैलपुत्री माविबाट एसईईमा सहभागी बनेर ४ जीपीए ल्याएका युनिक पनेरुलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।
गोरखा — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएका विद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाले १ लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बारपाक सुलिकोट–७ स्थित शैलपुत्री माविबाट एसईईमा सहभागी बनेर ४ जीपीए ल्याएका युनिक पनेरुलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । एसईई परीक्षा सुरु हुनुअगावै कार्यपालिका बैठकबाट निर्णय गराएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने गाउँपालिकाले सार्वजनिक रूपमा घोषणा गरेको थियो । शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले उनलाई नगदसहित सम्मान गरेका हुन् ।
एसईईमा ३.४ जीपीएभन्दा धेरै ल्याउने ९ जना विद्यार्थीलाई शुक्रबार नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए । ३.४ देखि ३.५९ जीपीए ल्याउने ७ जनालाई १० हजार, ३.६ जीपीए ल्याउने १ जनालाई १५ हजार नगदसहित गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै कक्षा १२ का १०, कक्षा १० का ९, कक्षा ८ का ७ र कक्षा ५ का ६ जना विषयत उत्कृष्ट शिक्षकलाई पनि ५/५ हजार नगदसहित सम्मान गरिएको आलेले बताए ।
स्तुल आधारभूत विद्यालयका प्रध्यानाध्यापक टीकाबहादुर आले र शैलपुत्री माविका प्रधानाध्यापक रामकुमार अंगाईलाई पनि उत्कृष्ट प्रधानाध्यापकका रूपमा नगदसहित गाउँपालिकाले सम्मान गरेको छ ।
