बारपाक सुलिकोटमा १५ शैयाको पालिकास्तरीय अस्पताल सञ्चालनमा

ग्रामीण भेगमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भई सेवा प्रारम्भ भएसँगै स्थानीयवासीले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

जेष्ठ १६, २०८३

हरिराम उप्रेती

15-bed municipal hospital in operation in Barpak Sulikot

What you should know

गोरखा — बारपाक सुलिकोट गाउँपालिका–४, हुँडीफाँटमा सुविधासम्पन्न १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ। नवनिर्मित ५५ कोठे अस्पताल भवनको उद्घाटनसँगै शुक्रबारदेखि सेवा प्रारम्भ गरिएको हो। अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णु भट्टले गरे।

पालिकास्तरीय अस्पताल भवनको निर्माण २०७८ असार १३ गते सुरु भई २०८२ पुस २८ गते सम्पन्न भएको थियो। १३ करोड ५७ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण भएको अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा प्रारम्भ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए।

‘आजबाट सेवा प्रारम्भ भएको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागितामा स्वास्थ्य शिविर पनि सञ्चालन गर्‍यौं,’ उनले भने। उनका अनुसार अस्पतालमा ३० जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ। ‘केही उपकरण ल्याइसकेका छौं। १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण खरिदका लागि ठेक्का लगाएका छौं, ती यही महिनाभित्र आइपुग्छन्,’ उनले भने।

कार्यपालिका बैठकको निर्णयबाट अस्पतालको नाम ‘शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल’ राखिएको छ। अस्पतालबाट दन्त, आँखा, प्रसूति, परिवार नियोजन, पोषण, हाडजोर्नीलगायतका सेवा प्रवाह गरिनेछ।

हुँडीफाँटमा निर्माण भएको अस्पतालमा निक साइमन्स इन्स्टिच्युट ले पनि पाँच वर्षसम्म जनशक्तिसहित सेवा उपलब्ध गराउने गरी गाउँपालिकासँग सम्झौता गरेको छ। २०८३ साउन १ गतेदेखि २०८८ असार ३० गतेसम्म इन्स्टिच्युटले अस्पतालमा जनशक्तिसहित सेवा उपलब्ध गराउनेछ। साथै, मेडिकल सामग्री तथा अस्पतालका जनशक्तिलाई आवश्यक तालिमसमेत उपलब्ध गराउने सम्झौता भएको छ।

‘अस्पतालमा ३० जनाको जनशक्ति व्यवस्थापन गरेका छौं। मेडिकल अफिसरसहित २५ जना जनशक्तिको व्यवस्थापन गाउँपालिकाले गरेको छ,’ आलेले भने।

नयाँ स्थानमा अस्पताल भवन निर्माण गरी सेवा सञ्चालन गरिएकाले बारपाक सुलिकोटका आठवटै वडा, अजिरकोट गाउँपालिकाका वडा नं. २ र ३ तथा धार्चे गाउँपालिकाको लाप्राक–गुम्दासम्मका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।

ग्रामीण भेगमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भई सेवा प्रारम्भ भएसँगै स्थानीयवासीले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। यसअघि आकस्मिक सेवाका लागि गोरखा बजार तथा चितवनसम्म पुग्नुपर्ने बाध्यता यहाँका स्थानीयलाई रहँदै आएको थियो।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully