गण्डकी सरकारको खर्च १० महिनामा ३३ प्रतिशत

आर्थिक वर्ष ०८२/०८३ को साउनदेखि वैशाखसम्म चालुतर्फ ३८.२९ र पूँजीगतर्फ ३०.०७ प्रतिशत मात्रै खर्च

जेष्ठ १४, २०८३

दीपक परियार

Gandaki government's expenditure down 33 percent in 10 months

What you should know

पोखरा — चालु आर्थिक वर्षको १० महिनामा गण्डकी प्रदेश सरकारको कुल बजेट खर्च ३३.०९ प्रतिशत मात्रै पुगेको छ ।

आर्थिक वर्ष ०८२/०८३ को साउनदेखि वैशाखसम्म चालुतर्फ ३८.२९ र पूँजीगतर्फ ३०.०७ प्रतिशत मात्रै खर्च भएको हो । आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा प्रदेश सरकारले गरेको खर्च न्यून हो । 

कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट विनियोजन भएकोमा १० अर्ब ५८ करोड ६ लाख ४८ हजार खर्च भएको छ । चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ८३ करोड ९० लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । चालुभन्दा पूँजीगत खर्च कम छ । पूँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये ५ अर्ब ७४ करोड १५ लाख ८३ हजार रुपैयाँ मात्रै खर्चर् हुन सकेको छ । वित्तीयतर्फको २५ करोड रुपैयाँ खर्च भएको छैन । 

आम्दानीतर्फ भने प्रदेशले लक्ष्यको ५८.१६ प्रतिशत भेटेको छ । प्रदेश सरकारले १८ अर्ब ५९ करोड ९१ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये कर राजस्व ८ अर्ब ३३ करोड ४ लाख ८५ हजार (६७.०२ प्रतिशत), गैरकर राजस्व १ अर्ब ६२ करोड ६० लाख ३ हजार (५१.९४ प्रतिशत), अनुदान ७ अर्बर् ६२ करोड ९२ लाख १५ हजार (६२.३६ प्रतिशत) र अन्य १ अर्ब १ करोड ३४ लाख १९ हजार (४१.६२ प्रतिशत) संकलन भएको हो । 

गण्डकीका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण ठेकेदार कम्पनी सम्झौता गर्नै नआएकोले भुक्तानी गर्न नपाउँदा बजेट खर्च कम देखिएको बताउँछन् । ‘मेरै मन्त्रालय अगाडिको बाटो ७५ लाखमा बनाउन ठेक्का परेको कम्पनी सम्झौता गर्न आएको छैन,’ उनले भने, ‘मूल्य समायोजन भएमा काम अघि बढ्थ्यो । तर त्यो प्रदेशले गर्न मिल्दैन, संघ सरकारले निर्णय गर्नुपर्छ ।’ 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully