पोखरा बहुमुखी क्याम्पसद्वारा राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गरिँदै

व्यवस्थापन तथा सामाजिक विज्ञानका उदाउँदा प्रवृत्तिहरूमा केन्द्रित सम्मेलनमा नेपालसहित तीन देशका ७८ अनुसन्धानकर्ता सहभागी हुनेछन् ।

जेष्ठ १३, २०८३

दीपक परियार

Pokhara Multiple Campus is organizing a national research conference.

पोखरा — पोखरा बहुमुखी क्याम्पसले यही १५ र १६ जेठमा ‘व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदाउँदा प्रवृत्तिहरू’ सम्बन्धी दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ ।

२०४४ मा पुरानो टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको यस सामुदायिक क्याम्पसले आफ्नो संस्थागत सुदृढीकरण र अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपल्ट यस्तो सम्मेलन गर्न लागेको हो । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, थाइल्याण्डको सिनावत्रा विश्वविद्यालय र मुक्त फाउन्डेसन नेपालको सहकार्यमा सम्मेलन हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा नेपालसहित तीन देशका ७ वटा विश्वविद्यालय र २१ वटा क्याम्पसका ७८ जना अनुसन्धानकर्ताहरूले सहभागिता जनाउने र विभिन्न विधाका ५४ वटा अनुसन्धान पत्रहरू प्रस्तुत हुने क्याम्पसले जनाएको छ ।

सम्मेलनमा हरित व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति र वातावरणीय न्याय जस्ता समसामयिक विषयहरूमा गहन छलफल हुनेछ । २०८२ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरिसकेको यस क्याम्पसले शिक्षण सिकाइसँगै अनुसन्धान र ज्ञान उत्पादनलाई प्राथमिकतामा राखेर यो कदम चालेको हो ।

Pokhara Multiple Campus is organizing a national research conference.

सम्मेलनका संयोजक सह–प्राध्यापक भीमप्रसाद न्यौपानेले प्राज्ञिक बहसलाई समाज र उद्योगसँग जोड्न यो सम्मेलन कोसेढुङ्गा सावित हुने दाबी गरे । 'शैक्षिक संस्थाहरू केवल कक्षाकोठाको शिक्षणमा मात्र सीमित नभई अनुसन्धान र ज्ञान उत्पादनको केन्द्र बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' उनले भने, 'व्यवस्थापन र सामाजिक विज्ञानका समसामयिक मुद्दाहरूमा नीतिगत संवाद गराउँदै विश्वविद्यालय, समुदाय र उद्योगबीचको सहकार्यलाई मजबुत बनाउनु नै यो सम्मेलनको मुख्य उद्देश्य हो ।'

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शिक्षाविद्, नीति निर्माता, उद्योगी व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहनेछ । उद्घाटन सत्र तथा विभिन्न प्राज्ञिक सेसनहरूमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे र थाइल्यान्डको सिनावत्रा विश्वविद्यालयका सहप्राध्यापक डा. थानकोर्न थानाथानचुचोट विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

यस्तै, उच्च शिक्षा, आर्थिक विकास, बैंकिङ र सामाजिक रूपान्तरणका विषयमा केन्द्रित रहने विशेष बहसमा प्रा.डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकीले विज्ञका रूपमा धारणा राख्ने तय भएको छ ।

क्याम्पस प्रमुख सह–प्राध्यापक शिशुकला पराजुलीले यो सम्मेलनले क्याम्पसको प्राज्ञिक उचाइलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरिन् । 'हामीले विभिन्न चुनौतीहरू पार गर्दै, आफ्नै भवन निर्माण गरेर क्यूएए प्रमाणपत्र समेत हासिल गरिसकेका छौँ,' उनले भनिन्, 'यो सम्मेलनले अनुसन्धान संस्कृतिको विकास मात्र गर्ने छैन, बरु नीति निर्माणमा प्राज्ञिक क्षेत्रको योगदान कस्तो हुनुपर्छ भन्ने मार्गचित्र समेत कोर्नेछ ।'

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully