‘सोयल नेलिङ’ प्रविधिबाट उदिपुर सडकको पहिरो नियन्त्रण

फलामको रडलाई माटोमुनि गाडेर थ्रीडी म्याट जाली प्रयोग गरी ‘सोयल नेलिङ’ प्रविधिबाट माटोलाई मजबुत बनाएर पहिरो नियन्त्रण गरिएको हो ।

जेष्ठ १२, २०८३

आश गुरुङ

Landslide control on Udaipur road using 'soil nailing' technology

What you should know

लमजुङ — पहिरो झर्ने क्रम नरोकिएपछि लमजुङको उदिपुरस्थित सडक ‘सोयल नेलिङ’ प्रविधि प्रयोग गरेर नियन्त्रण गरिएको छ ।

डुम्रे–बेंसीसहर सडकअन्तर्गत बेंसीसहर नगरपालिका १, उदिपुरको पहिरोमा फलामको रडलाई माटोमुनि गाडेर थ्रीडी म्याट जाली प्रयोग गरी ‘सोयल नेलिङ’ प्रविधिबाट माटोलाई मजबुत बनाएर पहिरो नियन्त्रण गरिएको हो ।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टका अनुसार यो अस्ट्रियाको प्रविधि हो । ‘कमजोर भू–भागलाई स्थिर बनाउन प्रयोग हुने आधुनिक भू–प्रविधिलाई हामीले उदिपुरमा प्रयोग गरेका छौं,’ उनले भने । उनका अनुसार पहिरो नियन्त्रण गर्न सडकमाथि १ हजार ८ सय ६० वर्गमिटरमा यो प्रविधि अपनाइएको छ । सडक नजिकैका भागमा करिब डेढ सय मिटर लम्बाइमा ग्याबिन जालीसहितको टेवा पर्खाल बनाइएको छ ।

सडकको तल्लो क्षेत्र पहिरोमा बायो इन्जिनियरिङ प्रयोग गरिएको छ ।  बाँस, सिमली, असुरो, भुजेत्रो, खरलगायत रोपिएका छन् । ४४ मिटर अग्लो ग्याबिन जालीसहितको पर्खाल बनाइएको छ । ठाउँ–ठाउँमा अरू
ग्याबिन जालीको पर्खाल र चेकवाल लगाइएको छ । मर्स्याङ्दी नदीको किनार र आसपास करिब २ सय मिटर लम्बाइ क्षेत्रमा ‘माइक्रो पाइलिङ’ गरिएको छ । साढे ६ मिटर चौडाइमा ३ सय ९५ मिटर कालोपत्रसमेत गरिएको छ ।

सिंगो मनाङ जिल्ला र लमजुङ सदरमुकाम बेंसीसहरसहित अधिकांश भू–भागमा चल्ने सवारी साधन सञ्चालन हुने उक्त सडक पहिरोले पहिलोपटक २०७८ भदौ ११ गते बगाएको थियो । सडकलाई कुनातर्फ च्यापेर अस्थायी रुपमा सञ्चालन गर्नुका साथै सडक निर्माणको लागि बोलपत्र आह्वानको प्रक्रियामा गइरहेको बेला २०७९ असार ४ गते सडक फेरि पहिरोले बगाएको थियो ।

Landslide control on Udaipur road using 'soil nailing' technology

पहिरोले सडक बगाइरहेपछि डाइभर्सन सडक निर्माण गरेर चिप्लेटीस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको गणको बीच भएर रिट्ठेबगरको सडक हुँदै उदिपुर उक्लिने गरी सञ्चालन गरिएको थियो । बेंसीसहर नगरपालिकाले माथिल्लो गाउँ हुँदै अर्को डाइभर्सन सडक पनि सञ्चालनमा ल्याएको थियो । तर दुवै स्थायी थिएनन् । बेंसीसहर–पोखरा माइक्रोबस चालक अकबहादुर तामाङले सडक सुरक्षाले यातायात र यात्रु दुवैलाई सुरक्षा मिलेको बताए ।

‘हामी यो पहिरोमा धेरैपटक फस्यौं, कतिपय साथीहरूको सवारी साधनै बिग्रियो । कतिपयको गुड्दागुड्दैको गाडी पहिरोले पुरियो’ उनले भने, ‘पहिले डराइडराई हिँडेको सडकमा अहिले कुनै समस्या छैन । बरु यही सडकको बाटो अरु ठाउँ छिटो फराकिलो बनाइदिए हुन्थ्यो ।’ उनका अनुसार लामो दूरीका मात्रैलाई नभइ छाटो दूरीका सवारी साधन तथा दिनहुँ आउजाउ गर्नुपर्ने यात्रुलाई पनि सहज भएको छ ।

पहिरो नियन्त्रणका लागि फेवा कन्सट्रक्सन प्रालि कास्कीले २०७९ चैत १० गते २२ महिनामा सक्ने गरी सम्झौता गरेको थियो । भ्याटसहित १३ करोड ६५ लाख १५ हजार १ सय ६३ रुपैयाँ ९७ पैसामा उक्त पहिरो नियन्त्रण गर्न सम्झौता भएको थियो । २०८१ माघ १० गतेसम्म सक्नुपर्ने यो पहिरो नियन्त्रण कार्य सक्नुपर्ने समयभन्दा दोब्बर बढी समय लागेर सकेको छ ।

सडक कार्यालयका अनुसार पहिलो पटक २०८२ असोज मसान्तसम्म सक्ने भनी सम्झौता म्याद थप भएको थियो । २ पटक म्याद थपेर यो सडक यही वैशाख अन्तिममा सकिएको डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले जनाएको छ । अन्तिम भुक्तानी भने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully