सडक कालोपत्र गर्न ङादीखोलाका जलविद्युत्‌ आयोजनासँग स्थानीयको माग

सडक कालोपत्रसँगै सुख्खायाममा खोलामा न्यूनतम १० प्रतिशत पानी नियमित छाड्नुपर्ने, स्थानीयलाई छुट्याइने १० प्रतिशत शेयरमध्ये करिडोर क्षेत्रका अति प्रभावित बासिन्दालाई प्राथमिकता दिनुपर्नेलगायत माग गरिएको छ ।

जेष्ठ १२, २०८३

आश गुरुङ

Locals demand Ngadikhola Hydropower Project to blacktop roads

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ र ७ को सिमाना ङादीखोला करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरुसँग स्थानीयले सडक कालोपत्रसहित विभिन्न माग अघि सारेका छन् ।

प्रभावित स्थानीय बासिन्दाले मंगलबार निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाहरुमा मागपत्र बुझाउँदै मर्स्याङ्दी गाउँपालिका ६, माथिल्लो ङादीको दोभानचौरदेखि नाइँचेसम्मको सडक तत्काल स्तरोन्नति र कालोपत्र गर्न माग गरेका हुन् ।

मर्स्याङ्दी–६ ठुलीबेंसीमा आइतबार आयोजित भेलाले वडा नं. ६ र ७ का ठुलीबेंसी, नाइचे, डहरे, ताराचोक, शेरा र लुदी क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ‘ङादीखोला करिडोर संघर्ष समिति’ गठन गरेको छ ।

समिति संयोजक झपेन्द्र अधिकारीले सडक कालोपत्रसँगै सुख्खायाममा खोलामा न्यूनतम १० प्रतिशत पानी नियमित छाड्नुपर्ने, स्थानीयलाई छुट्याइने १० प्रतिशत शेयरमध्ये करिडोर क्षेत्रका अति प्रभावित बासिन्दालाई प्राथमिकता दिनुपर्ने लगायत माग अघि सारेको बताए ।

संघर्ष समितिका सचिव राजु गुरुङका अनुसार जलविद्युत् कम्पनीहरुले विगतमा सडक स्तरोन्नति र कालोपत्र गर्ने मौखिक प्रतिबद्धता जनाए पनि कार्यान्वयन गरेका छैनन् । स्थानीयले पक्की सडक बन्ने आशामा कम मूल्यमा जग्गा उपलब्ध गराए पनि अहिले धुलो र हिलोका कारण जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेका संघर्ष समितिले जनाएको छ ।

समितिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसारका दायित्वसमेत कार्यान्वयन नभएको जनाएको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने समितिले चेतावनी दिएको छ ।

ङादी करिडोरमा यसअघि न्यादी जलविद्युत् आयोजना (३० मेगावाट) र सिउरीखोला जलविद्युत् आयोजना (५ मेगावाट) निर्माण सकिएर केन्द्रीय प्रसारण लाइनमा विद्युत् जडान भइसकेको छ । हिदीखोला जलविद्युत् आयोजना (६.८२ मेगावाट) केन्द्रीय प्रसारण लाइनमा विद्युत् जडानको प्रक्रियामा छ ।

सुपर न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावाट) अन्तिम चरणमा पुगेको छ । न्यादी फेदी जलविद्युत् आयोजना (२१.४ मेगावाट) र तल्लो न्यादी जलविद्युत् आयोजना (१२.६ मेगावाट) निर्माणाधीन अवस्थामा छन् । यति धेरै जलविद्युत् आयोजना भएर पनि मुख्य प्रभावित क्षेत्रको सडकको स्तरोन्नति गर्न तदारुकता नदेखिएको भन्दै स्थानीयले जलविद्युत् आयोजनाहरुको नियतमाथि प्रश्न गरेका छन् ।

स्थानीयले बुझाएको मागपत्रलाई मर्स्याङ्दी गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मर्स्याङ्दी गाउँपालिका वडा नं. ६ र ७ को कार्यालय, न्यादी जलविद्युत् सरोकार तथा समन्वय समिति, सुपर न्यादी जलविद्युत् सरोकार तथा समन्वय समिति र नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई पनि बोधार्थ दिएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादी नदीमा सञ्चालित आयोजनासँग सडक कालोपत्र र स्तरोन्नतिसहितको माग राख्न जम्मा भएका स्थानीय । तस्बिरः कान्तिपुर ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, ठुलीबेंसी क्षेत्रमा दैनिक ङादी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाका सवारी साधन गुड्ने सडक । तस्बिरः कान्तिपुर ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully