तमानखोलाको लामेलामा स्याउ खेती

पहिलो चरणमा २० रोपनी सामुदायिक जमिनमा लगाइएको स्याउको उत्पादन राम्रो भएमा सयौं क्षेत्रफलमा लगाउन सकिने पालिकाको योजना ।

जेष्ठ ११, २०८३

प्रकाश बराल

Apple cultivation in the Lamela of Taman Khola

What you should know

बागलुङ — कृषि उत्पादन बढाउने र सोही स्थानमा पर्यटक भित्र्याउने लक्ष्यले तमानखोला गाउँपालिकाले सार्वजनिक स्थलमा स्याउ खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । यो कार्यक्रमअन्तर्गत पहिलो चरणमा १ हजार ५ सय स्याउका बिरुवा रोपिएको छ ।

तमानखोला गाउँपालिका वडा नं ४ को सोले सामुदायिक वनको गोर्दीमा ३ सय र सिद्दिनी सामुदायिक वनको बहेलीमा १ हजार २ सय बिरुवा रोपिएको हो । गत वर्ष रोपिएका बिरुवा अहिले हुर्किसकेका छन् । ती स्थानमा गाउँपालिकाले लगानी गरेको छ भने वडा कार्यालयले व्यवस्थापन गरिरहेको वडाध्यक्ष छप्रसाद सिर्पालीले बताए ।

मुस्ताङबाट ल्याइएको गोल्डेन स्याउका बिरुवा रोपेपछि नियमित गोडमेल, मलजलको काम भइरहेको हो । सार्वजनिक पाखोमा अनावश्यक झाडी बढेका, अनुत्पादक झार उम्रेको फाँडेर पालिकाले झण्डै ७ लाख खर्चेर यो काम गरेको हो । गोर्दी २ हजार ५ सय मिटरको उचाइमा छ भने बहेली ३ हजार ५ सय मिटरमा छ । पहिलो चरणमा २० रोपनीमा लगाइएको स्याउको उत्पादन राम्रो भएमा सयौं क्षेत्रफलमा लगाउन सकिने पालिकाको योजना छ । 

पालिकाले कार्यविधि बनाएर पहिलो चरणमा सामुदायिक जमिनमा खेती गरेको हो । गाउँपालिकाले खेती गरेको भए पनि उत्पादनपछिको आय आर्जन स्थानीय समुदायले नै पाउनेछ । ‘यो पहिलो पटक परीक्षण समेत हो, यो सफल भयो भने किसानलाई व्यक्तिगत रूपमा पनि लगाउन भन्छौं,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘स्याउ उत्पादन बढाउन सकियो भने बसाइसराइ रोकिने, किसानले घरमै बसेर आम्दानी गर्न सक्नेछन् ।’ कृषि प्राविधिकहरूको सल्लाहमा यी दुवै उचाइमा स्याउ खेती गरिएको हो । 

गाउँपालिकाले कृषि उत्पादन र पर्यटनलाई नै समृद्धिको आधार बनाएको छ । यहाँका लामेला, तमानगाउँ, मुठाचौर, खोल्सेवाङ, स्याउला र नर्जाखानीमा समेत आलु लगाइएको छ । सोलेडाँडा, बराहताल, भित्रीवन र बहेलीमा स्याउ खेती बिस्तार गर्ने योजना बनेको हो । ‘उत्पादन बढाएर आत्मनिर्भर बनाउन सकियो भने मात्र स्थानीय बिकास संभव छ,’ बुढाले भने, ‘कठिन भौगोलिक क्षेत्रमा बसाल्न घरमै बसेर पनि पैसा कमाउने वातावरण चाहिन्छ ।’ बुर्तिवाङदेखि तमान, लामेला हुँदै सोलेसम्म सडक बनिसकेकाले उत्पादनलाई बजार पठाउन पनि सहज हुनेछ । 

कृषि प्राविधिक विधान बगालेले यो क्षेत्रमा स्याउको राम्रो उत्पादन लिन सकिने बताए । पाँच वर्षमा फल्ने स्याउका बोट अहिले नै राम्रो बनिसकेकाले छिट्टै फल्न सक्ने उनले बताए । ती बिरुवाको रेखदेख र औषधी उपचारका लागि कृषि शाखाले पनि नियमित अनुगमन गरिरहेको छ । २ हजार २ सय मिटरदेखि माथिको भूगोलमा स्याउ खेती गर्न सकिने उनले बताए । हिउँदमा हिउँसमेत पर्ने भएकाले यो क्षेत्र उपयोगी भएर छनोट गरिएको उनले जानकारी दिए । 

तमानखोलाले पर्यटक आकर्षित गर्नका लागि २ हजार ६ सय मिटरको सोलेडाँडामा पनि आकर्षक संरचना बनाएको छ । हिमाली शृंखला देखिने स्थानमा सहिद पार्क, मन्दिर र पानी संकलन पोखरी बनाएको छ । यहाँ जाने सिंढी मार्ग र रेलिङ राखिएको छ । नजिकै पर्यटन कार्यालयले बनाइदिएको विश्राम स्थलले झरी पर्दा ओत लाग्न सजिलो भएको छ । घुम्नका लागि आउने पर्यटकलाई पनि यहाँको स्याउबारीमा लैजाने लक्ष्य गाउँपालिकाको छ । परंम्परागत रूपमा पनि लामेलामा केही स्याउका बोट छन् । स्थानीय जातका ती बोटमा भने राम्रो फल लाग्न छाडेको छ । गोल्डेन स्याउको उत्पादन भने राम्रो लिन सकिने कृषि प्राविधिकको भनाइ छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully