तमानखोला ४ को लामेला र सोलेमा फैलिएको जंगलनजिकैको झण्डै ७ रोपनी जमिनमा नमूनाको रुपमा जडीबुटीका बिरुवा रोपिएको हो ।
What you should know
बागलुङ — समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर अग्लो सोलेडाँडामा तमानखोला गाउँपालिकाले जडीबुटीपार्क बनाएको छ । दर्जन बढी प्रजातिका संरक्षित जडीबुटी रोपेर नमुना पार्क बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
तमानखोला ४ को लामेला र सोलेमा फैलिएको जंगलनजिकैको झण्डै ७ रोपनी जमिनमा नमूनाको रुपमा जडीबुटीका बिरुवा रोपिएको हो । गाउँपालिकाले लगानी गरेर सिंगो जगलको नमूनाको रुपमा पार्क बनाएको हो ।
यहाँ औषधिको रुपमा प्रयोग हुने सतुवा, अश्वगन्धा, चिराइतो, वनमकैलगायतका दर्जन प्रकारका जडीबुटी रोपिएको हो । गत आर्थिक वर्ष र चालु वर्ष गरी यो पार्क निर्माणमा ७ लाख रुपैयाँ खर्च भएको बुढाले बताए । ‘तारबार लगाएर सुरक्षित भएको स्थानमा जडीबुटीका बिरुवा रोपेका छौं,’ बुढाले भने, ‘यो पार्कमा हुर्काएपछि व्यवसायिक रुपमा उपयोग पनि गरिने छ ।’ जडीबुटीको उत्पादन बढाउन सकेमा स्थानीय तहमै प्रशोधन केन्द्र बनाउने योजना पनि उनले सुनाए ।
यो वनमा सबैखाले जडीबुटी पाइने स्थानीय छप्रसाद सिर्पालीले बताए । ‘यो पार्क बनेपछि जंगलमा सिधा प्रवेश गर्न पनि रोक लगाइएको छ,’ सिर्पालीले भने, ‘पार्कमा पनि आश्वयक समयमा मात्र खोलेर गोडमेल गर्ने, जडीबुटीको स्याहार गर्ने काम गरिन्छ ।’ जडीबुटीबाट औषधि र कस्मेटिक सामग्रीकालागि बजार खोजी गर्ने काम भने स्थानीय तहले गर्ने बुढाको भनाइ छ ।
सोलेडाँडाको बिस्तृत गुरुयोजना बनाएको पालिकाले यहाँ जडीबुटी संरक्षण र प्रशोधन गर्न सकिने संभावित योजनासहित पर्यटक भित्र्याउने, सहिद पार्क, वनभोज स्थल, चरन क्षेत्रको संरक्षण गरी पशुपालनलाई प्रोत्साहन गर्नेसहितका योजना बनाएको छ ।
गाउँपालिकाले संरक्षित गरेर जडीबुटी रोपेको स्थानलाई अनुसन्धानको रुपमा पनि विकास गर्ने योजना छ । अनुसन्धान र पहिचानबाट पत्ता लागेका जडीबुटीको आधारमा सोलेको जंगलमा भएको परिणाम पत्ता लगाउने, त्यसलाई ब्लक बनाउने र संकलन गरी बजारीकरण गर्न सकिने वडा ३ का अध्यक्ष झकबहादुर बुढाले बताए । यो काम तत्काल पूरा नभए पनि अभियान सुरुवात भएको उनले बताए ।
बुर्तिवाङदेखि बोङगादोभान, तमान, लामेला हुँदै सोले पुग्ने सडक बनेको छ । यो सडक प्रदेश रणनीतिक सडकको रुपमा पनि सूचीकृत छ । म्याग्दीको मालिका गाउँपालिकाको रुम र ओखरबोट जोड्ने सोलेलाई जोडेर पदमार्ग पनि रेखांकन भएको छ । बागलुङको ताराखोलादेखि सोले हुँदै तमानखोला ६ स्थित नोडल्ले पहाडसम्म यात्रा गर्न सकिने पदमार्गको रेखांकन भएको हो । यो मार्ग भएर ढोरपाटन पनि जान सकिन्छ ।
पर्यटकीय दृष्टिले समेत सोलेडाँडा चर्चित छ । म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेकोले यहाँदुवै जिल्लाका आन्तरिक पर्यटक पुग्छन् । लोकगायक खड्ग गर्बुजाको ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई...’ भन्ने गीतले समेत चर्चित यो डाँडामा दर्जन प्रकारका गुँरास समेत पाइन्छन् । ठूला खर्क, पशु चरन क्षेत्र, उत्तरतर्फ हिमाली श्रृंखला समेत देखिने भएकोले धेरैको रोजाइमा पर्छ । गर्मी मौषममा शीतल खोज्ने जाने समेत उत्तिकै हुन्छन् ।
तमानखोलाका बासिन्दाले २०६६ सालमा चन्दा उठाएर ओखरबोटदेखि सडक बनाइ सोले र तमानगाउँ जोडेका थिए । त्यतिबेलादेखिनै यो डाँडा पर्यटकीय रुपमा चिनिन थालेको हो । गाउँपालिकाले यहाँ ५० लाख बढी खर्चेर वनभोज स्थल, पानी पोखरी, सहिद पार्क र मन्दिर पनि बनाएको छ । यस्ता पूर्वाधार बनेपछि एक दिन बासै बस्ने गरी पनि कतिपय पर्यटक पुग्न थालेका छन् । बास बस्नेले गोठ वा टेन्टमा बस्छन् ।
तत्कालीन पर्यटन कार्यालय हालको एकीकृत कार्यालय बागलुङले यहाँ पाहुना घर बनाएको छ भने म्याग्दीतर्फ पनि अतिथि गृह बनाइएको छ । आर्कषक पदमार्ग समेत बनाइएकोले यहाँ पुगेर तस्बिर खिच्ने, भिडियो र भ्लग बनाउनेहरु पनि पुग्न थालेको स्थानीयले बताए । सोले नजिकैको लामेलामा हरेक वर्ष जेठ पहिलो र दोस्रो साता पुरुष तथा महिला भलिबल, तारो हान्ने, छेलो जस्ता खेलकुदसहित मेला पनि लाग्छ । स्थानीय आलुसहितका उत्पादनको बजारीकरणकालागि पनि मेला चर्चित छ ।
