वन नजिकका बस्ती, प्राकृतिक आहारको कमी, जंगल विनाश र गाउँमा मानव गतिविधि घट्नु बाँदर आतंक बढ्नुका प्रमुख कारण हुन सक्ने स्थानीय बताउँछन् ।
What you should know
स्याङ्जा — बाँदरले थातथलोमा बसिखान नदिएपछि जिल्लाका ग्रामीण क्षेत्रबाट सर्वसाधारण पलायन हुन थालेका छन् । कोही गाउँ छाडेर नयाँ ठाउँ सरेका छन् । गाउँमै बस्नेले पनि खेतीपाती गर्न छाडेका छन् । एक समय मकै, कोदो, सुन्तला, तरकारी र फलफूलले हराभरा देखिने जिल्लास्थित डाँडाकाँडा अहिले बाँझो बनेका छन् ।
स्थानीयका अनुसार उज्यालो नहुँदै बाँदरका हुलले बारीमा पाक्न लागेको मकै भाँचेर फाल्छन् । तरकारी उखेलेर नष्ट पार्छन् । फलफूल सखाप बनाउने गरेका छन् । वर्षभरिको मिहिनेत केही घण्टामै स्वाहा हुन थालेपछि स्थानीय निराश छन् । पुतलीबजार–४, रामकोशका बाबुराम पोखरेलले एक्लैदुक्लै बाँदर धपाउन नसकिने गुनासो पोखे । ‘भित्र्याउने बेलाको बाली देख्दा माया लाग्छ,’ उनले भने, ‘हुलका हुल आएर घरभित्रै कब्जा जमाउँछन् ।’ बाँदरले पुर्याउने क्षति बराबरको रकमले बजारबाट अन्न किनेर खान सजिलो हुने उनले सुनाए ।
गल्याङ–१०, डुबिन्डाँडा क्षेत्रमा केही वर्षअघि बाँदर आतंक छायो । त्यसपछि स्थानीय गाउँ छाड्न बाध्य भएको पूर्ववडाध्यक्ष ध्र्रुव पंगेनीले बताए । घरभित्र समेत अन्न नबच्ने भएपछि स्थानीय गाउँ छाड्न बाध्य भएको उनले बताए । अहिले त्यहाँ बसोबास भएका परिवारले खेतीयोग्य जमिन बाँझै राख्न थालेका छन् ।
स्थानीयका अनुसार पहिले गाउँभरिका मान्छे खेतमा व्यस्त हुन्थे । बाँदर जंगलमै सीमित थिए । अहिले गाउँमा बसोबास गर्नेको संख्या घट्यो । जसले गर्दा खेतीपाती हुन छाड्यो । घरको छाना, कौसी र आँगनसम्म आइपुग्ने बाँदरका कारण एक्लै खेतमा जान डर लाग्ने गरेको विरुवा गाउँपालिका–३ की मैया थापाले बताइन् । ‘विद्यालय जाने बालबालिका समेत बाँदर देखेर तर्सिने गरेका छन्,’ उनले भनिन्, ‘गाउँमा वृद्धवृद्धा मात्रै छन् । त्यसै पनि अहिले खेतीपाती गरेर भन्दा बजारबाट किनेर खान सजिलो भयो ।’
स्थानीय तहले बाँदर धपाउन विभिन्न प्रयास गरेका छन् । कतै आवाज निकाल्ने उपकरण प्रयोग गरिएको छ । कतै ‘मन्की गन’ बाँडिएको छ । कतै सामूहिक रूपमा बाँदर लखेट्ने अभियान चलाइएको छ । तर, कुनै उपाय पनि दीर्घकालीन रूपमा प्रभावकारी हुन सकेका छैनन् । किसानका अनुसार आज धपाएको बाँदर भोलिपल्ट फेरि उही खेतमा फर्किन्छ । वन नजिकका बस्ती, प्राकृतिक आहारको कमी, जंगल विनाश र गाउँमा मानव गतिविधि घट्नु बाँदर आतंक बढ्नुका प्रमुख कारण हुन सक्ने स्थानीय बताउँछन् ।
वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले जिल्लाका ग्रामीण बस्तीमा बाँदर आतंक वन्यजन्तुको समस्या मात्र नभएको बताए । ‘यो कृषि, अर्थतन्त्र र बसाइँसराइसँग जोडिएको गम्भीर सामाजिक संकट पनि हो,’ उनले भने, ‘खेतबारी उजाडिँदा गाउँ रित्तिँदै छन् । उत्पादन घट्दै छ र किसानको परम्परागत जीवनशैली संकटमा पर्दै गएको छ ।’
