पोखरा–१९ का अमृत परियारले गरे सगरमाथाको सफल आरोहण । बलात्कार र यौन हिंसापीडितलाई न्यायको माग गर्दै चुचुरोमा फहराए ब्यानर ।
What you should know
पोखरा — हिमाल आरोहण बहुसंख्यकका लागि एउटा व्यक्तिगत कीर्तिमान, महत्त्वाकांक्षा वा साहसिक रोमाञ्च मात्रै हुन सक्छ । तर, पोखरा महानगरपालिका–१९, तल्लाकोट ठाँटीका अमृत परियारका लागि भने ८,८४८.८६ मिटर अग्लो सगरमाथाको यात्रा केवल हिउँसँगको सम्झौता थिएन । त्यो त समाजको पिँधमा पारिएकाहरूको आत्मसम्मान र मुलुकमा भइरहेका जघन्य अपराधविरुद्ध विश्वकै सर्वोच्च थलोबाट उरालिएको एउटा बलियो विद्रोह थियो ।
७ जेठको बिहान १२ः१६ बजे जब अमृतले सगरमाथाको शिखरमा पाइला टेके, तब उनले एउटा आरोहीका रूपमा मात्रै विजयोत्सव मनाएनन् । उनले वर्षौंदेखि न्यायको पर्खाइमा छटपटाइरहेका बलात्कार र हत्याका सिकार भएका छोरीहरूको मौन आवाजलाई संसारकै अग्लो शिरबाट गुञ्जाइदिए । बलात्कारपछि हत्या गरिएका र यौन हिंसापीडितलाई न्यायको माग गर्दै चुचुरोमा ब्यानर फहराए ।
पोखराको सामान्य गाउँमा जन्मिएका अमृतको प्रारम्भिक जीवन कष्टकर रह्यो । गरिबी र अभावको चक्रव्यूहभित्रै हुर्किए पनि उनको भित्री चेत र पढ्ने इच्छाशक्ति कहिल्यै ओइलाएन । गाउँकै विद्यालयबाट उत्कृष्ट अंकसहित विद्यालय तह (एसएलसी) पूरा गरेपछि उनी उच्च शिक्षाको सपना बुन्दै पोखरा झरे । पोखराको पृथ्वीनारायण क्याम्पसबाट विज्ञान तथा प्रविधि संकायमा अध्ययन सुरु गरेपछि उनको लगाव चिकित्सा क्षेत्रतर्फ मोडियो । कडा मिहिनेतकै जगमा उनले कान्तिपुर डेन्टल कलेजमा नाम निकाल्न सफल भए र तीनवर्षे डेन्टल डिप्लोमाको पढाइ पूरा गरे । 
पढाइ सकिएपछि उनले स्थानीय क्लिनिकमा केही समय रोजगारी त गरे तर मनभित्र सधैं आफ्नै केही व्यवसाय सुरु गर्ने हुटहुटी थियो । देशको तीतो यथार्थ, लगानीको अभाव र राज्यको कमजोर प्रणालीका कारण उनको त्यो सपना पोखरामै अलपत्र पर्यो । अन्ततः पारिवारिक जिम्मेवारीको बोझ र देशमा चुलिँदो बेरोजगारीको कहरले उनलाई पनि अन्य लाखौं नेपाली युवाजस्तै परदेशिन बाध्य बनायो । उनी रोजगारीका लागि अमेरिका प्रस्थान गरे ।
अहिले उनी श्रीमती र दुई छोरीसहित अमेरिकामै बस्दै आएका छन् । ज्यान सात समुद्रपारि रहे पनि उनको मन र मस्तिष्क भने सधैं नेपालकै माटो र यहाँका समसामयिक मुद्दामा घुमिरह्यो । ‘नेपालका पहाड, कन्दरा र हिमालहरूसँग पहिलेदेखि नै अगाध स्नेह थियो,’ उनी भन्छन्, ‘जब–जब मातृभूमि फर्किन्थेँ, हिमालका फेदीहरूमा ट्रेकिङ गर्न निस्किहाल्थेँ ।’ तर, यसपटकको उनको स्वदेश फिर्ती केवल मनोरञ्जन वा घुमघामका लागि मात्र थिएन । उनी एउटा गम्भीर सामाजिक उद्देश्य बोकेर नेपाल ओर्लिएका थिए । लामो समयदेखि नेपालमा घटिरहेका बलात्कार, यौन हिंसा र बलात्कारपछिको वीभत्स हत्याका घटनाहरूले उनको मन कटक्क खाएको थियो ।
निर्मला पन्त, भागिरथी भट्टराई, इनिसा विक, सलिना पोखरेल, अंशु गौतम, रश्मि परियार, आरती भट्टराई, अंगिरा पासी र माया विक जस्ता अबोध छोरीहरूले न्याय नपाएको दृश्यले उनलाई पोलिरहन्थ्यो । समाजमा व्याप्त यो डरलाग्दो प्रवृत्ति र राज्यको उदासीनताका विरुद्ध केही ठोस कदम चाल्नैपर्ने निष्कर्षमा उनी पुगे । उनले माध्यम रोजे– सगरमाथा ।
हिमाल चढ्ने संकल्प त गरे तर यो यात्रा सहज थिएन । नेपालमा जातीय रूपमा हेपिएका उत्पीडित समुदायका व्यक्तिका लागि आर्थिक र सामाजिक अवरोधहरू सगरमाथाभन्दा पनि अग्ला हुन्छन् । लाखौं रुपैयाँ खर्च हुने यस्तो महँगो यात्राका लागि उनीसँग प्रायोजक खोज्ने पर्याप्त समय थिएन । तर दृढ इच्छाशक्तिका अगाडि आर्थिक संकट टिकेन । उनले आफ्नो सम्पूर्ण निजी खर्चमा यो खर्चिलो यात्राको भारी आफैं बोक्ने कठोर निर्णय गरे ।
सगरमाथाको कठिन यात्रामा निस्किनुअघि अमृतले यसअघि ८ हजार मिटरभन्दा माथिको ‘डेथ जोन’ को अनुभव लिन ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण प्रयास गरिसकेका थिए । प्रतिकूल मौसम, तीव्र हावाहुरी र हिमपहिरोका कारण त्यतिबेला उनी ७,८०० मिटरसम्म मात्र पुग्न सके र शिखर चुम्न पाएनन् । ‘त्यो असफलताले मलाई गलाएन, बरू उच्च हिमाली क्षेत्रको चुनौती, अक्सिजनको अभाव र कठोर वातावरणसँग जुध्ने अमूल्य व्यावहारिक ज्ञान दियो,’ उनले भने, ‘मनास्लुको त्यही सिकाइ र शेर्पाहरूको अविचलित साथकै जगमा यसपल्ट सगरमाथाको सफल आरोहण गरेँ ।’
४५ दिने लामो र कष्टकर तालिका बोकेर उनी लुक्ला हुँदै सगरमाथा आधार शिविरतर्फ बढेका थिए । आधार शिविरमा परम्परागत पूजापाठ र कडा प्राविधिक अभ्यासपछि उनी हिउँका गहिरा खाडल र चट्टानहरू पार गर्दै बिस्तारै माथितिर लम्किए ।
उनी केवल एउटा राष्ट्रिय झण्डा बोकेर सगरमाथा पुगेका थिएनन् । उनको हातमा एउटा ऐतिहासिक र संवेदनशील ब्यानर थियो, जसमा सरकारलार्ई ध्यानाकर्षण गराउँदै लेखिएको थियो– ‘सेभ डटर’, ‘स्टप रेप’ । उनले ती तमाम छोरीहरूका तस्बिर अंकित ब्यानरलाई संसारकै सबैभन्दा उच्च विन्दुमा पुर्याएर फैलाए, जसले यो समाजको क्रूरताका कारण अकालमै ज्यान गुमाउनु परेको थियो । सगरमाथाको चुचुरोबाट उनले नेपाल सरकार र सिंगो विश्वलाई बलियो सन्देश दिएर फर्किएपछि उनले भने, ‘अब त छोरीहरूलाई बाँच्न देऊ, अपराधीलाई सजाय र पीडितलाई न्याय देऊ ।’
आरोहणका क्रममा प्रत्येक शिविरबाट उनले सामाजिक सञ्जालमार्फत राज्यका सरोकारवाला निकायलाई दबाब दिने काम पनि निरन्तर जारी राखेका थिए । उत्पीडित र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्दै इतिहास रच्ने उनको यो प्रयासले केवल एउटा व्यक्तिगत सपना मात्र पूरा गरेन, बरू समाजमा विद्यमान जातीय विभेद र वर्गीय खाडललाई चिर्दै भावी पुस्ताका लागिसमेत एउटा दरिलो प्रेरणाको स्रोत खडा गरिदिएको छ । ‘हिउँको टाकुरा मात्रै जितेको महसुस भएको छैन,’ आरोहणपछि फर्किएर उनले भने, ‘अन्यायका विरुद्ध कसरी सर्वोच्च शिखरबाटै विद्रोहको बिगुल फुक्न सकिन्छ भन्ने पनि प्रमाणित भएको छ ।’
