सामागाउँ र साम्दो क्षेत्रमा छाडा कुकुर र जंगली जनावरबाट चौपायामाथि भइरहेको आक्रमण रोक्न र समस्या पहिचान गर्न क्यामेरा राखेर अध्ययन सुरु गरिएको हो।
What you should know
गोरखा — मनास्लु क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व अध्ययन गर्न १८ वटा क्यामेरा जडान गरिएको छ । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)ले पहिलो चरणमा चुमनुब्री–१ सामागाउँ र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व अध्ययनका लागि क्यामेरा मार्फत अध्ययन थालेको हो ।
सामागाउँमा र साम्दो क्षेत्रमा छाडा कुकुरले याक, चौंरी र घोडालगायतका घरपालुवा जनावरलाई आक्रमणका घटनामा बृद्धि भएको छ । एक दशकयता सामागाउँ र साम्दो क्षेत्रमा जंगली जनावरले याक र चौरीका पुच्छर चुँडाएर अलग गरिदिने घटना चुनौतीको रुपमा देखिएको छ । लाखौं मूल्य पर्ने याक, चौंरी र घोडा जंगली जनावरको आक्रमणको सिकारमा पर्न थालेपछि स्थानीय पनि आजित छन् । वन्यजन्तुले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि साम्दो क्षेत्रमा पशुपालन व्यवसाय नै संकटमा परेको छ ।
त्यसको अध्ययनका लागि १२ वटा ट्रयाप क्यामेरा हिमालय इन्भाइरोमेन्ट एन्ड प्रोटेक्सन नामक संस्थाको सहयोगमा स्थापना गरिएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का सूचना अधिकारी भुवन ओझाले बताए । ‘जंगली जनावरले घरपालुवा जनावरलाई आक्रमण गर्दा स्थानीय पशुपालकलाई ठूलो आर्थिक क्षति पुर्याइरहेको छ,’ उनले भने, ‘स्थानीय समुदाय, सरोकारवाला तथा सम्बन्धित पक्षसँगको छलफलपछि बढी घटना भएका स्थान पहिचान गरी ट्रयाप क्यामेरा जडान गरेका हौं ।’
प्रत्येक स्थानमा ट्रयाप क्यामेरा ७ दिनसम्म राखेर त्यसपछि नयाँ स्थानमा सारिने पनि उनले बताए । ‘क्यामेरा ७ दिन एक स्थानमा राखेर अर्को स्थानमा सार्ने प्रक्रियालाई एक महिना सम्म निरन्तरता दिन्छौं,’ उनले भने । स्थानीयसँग समन्वय गरेर यसअघि बढी घटना भएका क्षेत्र पहिचान गरेर क्यामेरा राखिएको छ ।
अध्ययन पछि चौपायमाथि हुने आक्रमणमा संलग्न प्राजातिको पहिचानमा सहयोग पुग्ने ओझाले बताए ।
अध्ययनबाट प्राप्त तथ्यंकले मानव–वन्यजन्तु द्वन्द्वको वास्तविक कारण पहिचान गरी प्रभावकारी नीति निर्माणमा सहयोग पुग्ने उनले बताए । ‘स्थानीयको जनजीविका र वन्यजन्तु संरक्षण बीच सन्तुलन कसरी कायम गर्ने अध्ययन पछि केही थाहा हुन्छ,’ उनले भने । अध्ययनले छाडा कुकुरको गतिविधि मात्र नभइ हिउाचितुवा, हिमाली ब्वाँसो, हिमाली भालुजस्ता वन्यजन्तुको अवस्थाबारेमा पनि वुझ्न सघाउ पुग्ने उनले बताए।
चालु आर्थिक वर्ष सामागाउँ र साम्दो क्षेत्रमा मात्र अध्ययन गर्ने एमक्यापको योजना छ । ‘मानव–वन्यजन्तु द्वन्द्वको समस्या वडा ७ को छेकम्पार तथा तल्लो क्षेत्रमा पनि छ,’ उनले भने,‘अन्य क्षेत्रमा पनि क्रमशः अध्ययन गर्दै जान्छौं ।’ सामागाउँ र साम्दो क्षेत्रमा अध्ययनका लागि दुइ प्राविधिकसहित ५ जना खटिएको पनि ओझाले बताए । ‘पहिलो चरणमा राखेको १८ वटा क्यामेरको रिजल्ट के आउँछ, त्यसलाई अध्ययन गर्दै स्थानीयसँग छलफल गरेर यसअघि घटना भएको क्षेत्रलाई आधार मानेर क्यामेरा सार्छौं,’ उनले भने ।
