४ वर्षमा बन्यो नौलीखोला मोटरेबल पुल

लार्केसडक खण्ड अन्तरगत धार्चे–७ नौलीखोला मोटरेबल पुलले उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका पुग्न सहज हुने छ ।

जेष्ठ ३, २०८३

हरिराम उप्रेती

Naulikhola motorable bridge built in 4 years

What you should know

गोरखा — लार्के सडक खण्ड अन्तरगत धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोलाको मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ । २०७९ बाट निर्माण सुरु भएको पुल दुई पटक म्याद थप पछि बल्ल निर्माण पूरा भएको हो । 

पुल निर्माण पूरा भएसँगै आइतबारबाट सवारी चल्न सुरु भएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताए । ‘साइडमा वाल लगाउने थोरै मात्र काम बाँकी छ, अरु निर्माण पूरा भएर गाडी चल्न थालेको छ,’ उनले भने । 

३५ मिटर लम्बाई र ८.४० मिटर चौडाइको पुल निर्माणका लागि ४ करोड ३५ लाख लागत लागेको उनले बताए। २०८१ असारभित्रै काम सक्ने गरी २०७९ साउनमा पुल निर्माणको जिम्मा सूर्योदय कन्ट्रक्सनले लिएको थियो । समयमै निर्माण पूरा नभएपछि म्याद थप गरेर पुल निर्माण गरिएको उनले बताए । ‘डाइभर्सन पनि छैन, यो ठाउँमा बर्खाको बेला काम गर्न समस्या भयो, ६ महिना काम नहुँदा पूरा हुन थप समय लाग्यो,’ उनले भने ।

बेनीघाट–आरुघाट–लार्के सडक खण्ड अन्तरगत नौलीखोलामा मोटरेबल पुल निर्माणमा ढिलाइले बर्खायाममा उत्तरी क्षेत्र पुग्ने सडक ठप्प बन्ने गरेको भन्दै स्थानीयले पुल निर्माण चाडो सक्न माग राख्दै आएका थिए । 

नौलीखोलामा प्रिस्ट्रेस प्रविधिको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नौलीखोला पुलले पूर्णता पाएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकाकावासीलाई आउजाउ सहज बनेको छ ।  

लार्के सडकको ट्रयाक खुलेसँगै हिउँदयाममा चुमनुब्री–३ को पाङसिङसम्म जिप, ट्याक्टर, ट्रकलगायतका सवारी साधन चल्न थालेका छन् । पाङसिङसम्म सवारी चल्दा स्थानीयको आउजाउको दुरी छोट्टिएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी सहज र सस्तो बनेको छ । नवनिर्मित पुलको आइतबार धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully