न्यायिक समितिको पहलमा मिलन

लामो समयपछि एउटै ठाउँमा बसेर संवाद हुँदा, दुवै छोरीलाई एकअर्काले अँगालोमा राख्दा वातावरण नै भावुक बनेको आफन्तले बताए ।

वैशाख ३०, २०८३

आश गुरुङ

Milan at the initiative of the Judicial Committee

What you should know

लमजुङ — तीन वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका लीला गुरुङ र धर्मसिं गुरुङ मंगलबार पुनः एउटै घरमा फर्किएका छन् । मनमुटावले टुट्न लागेको परिवारलाई गाउँपालिकाको न्यायिक समितिले पुनर्मिलन गराइदिएको हो ।

३७ वर्षीया लीला दुई छोरीसहित माइतीघर मर्स्याङ्दी गाउँपालिका–३, ढगैंमा बस्दै आएकी थिइन् । उनका श्रीमान् ४३ वर्षीय धर्मसिं गुरुङ मर्स्याङ्दी गाउँपालिका–१, घनपोखराको फ्रेजोंस्थित घरमै बसेर सामान्य निर्माण व्यवसायको काम गर्थे । सम्बन्धमा चिसोपना बढ्दै जाँदा दुवै जना तीन वर्षदेखि अलग–अलग थिए ।

वैशाख ३ गते लीलाले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिन् । आरोप थियो, श्रीमान्ले आफू र छोरीहरूको जिम्मेवारी नलिएको । उजुरीपछि न्यायिक समितिले दुवै पक्षलाई छुट्टाछुट्टै र सँगै राखेर पटक–पटक छलफल गर्‍यो । अन्ततः संवादकै माध्यमबाट उनीहरूलाई पुनः मिलाउन सफलता मिल्यो ।

गाउँपालिकाका न्यायिक सहजकर्ता विष्णुराज घिमिरेका अनुसार अदालतसम्म पुग्न सक्ने विवादलाई स्थानीय तहमै समाधान गर्ने प्रयास गरिएको हो । ‘मनमुटाव बढेपछि श्रीमती छोरीसहित माइती बस्नुभएको रहेछ,’ उनले भने, ‘हामीले दुवै पक्षसँग विभिन्न चरणमा संवाद गर्‍यौं । अन्ततः पुराना कमजोरी स्वीकार्दै फेरि सँगै बस्ने सहमति बन्यो ।’ उनका अनुसार दुवै जना सँगै बस्ने सहमतिका साथ घर फर्किका छन् ।

लीला र धर्मसिंका ८ र ४ वर्षका दुई छोरी छन् । परिवारका अनुसार पहिलो सन्तान जन्मिएपछि धर्मसिं वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्किएपछि दोस्रो सन्तान जन्मियो । त्यसयता सम्बन्धमा दरार बढ्दै गएको थियो ।

तर समयसँगै छोरीहरूको भविष्यले दुवैलाई फेरि नजिक ल्यायो । ‘छोरीहरूको भविष्यका लागि मिल्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं,’ परिवारका एक सदस्यले भने, ‘दुवै जना खुसी छन् ।’

पुनर्मिलनका दिन दुवै पक्षका आफन्तसमेत गाउँपालिका कार्यालय पुगेका थिए । लामो समयपछि एउटै ठाउँमा बसेर संवाद हुँदा, दुवै छोरीलाई एकअर्काले अँगालोमा राख्दा वातावरण नै भावुक बनेको आफन्तले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले पछिल्लो समय पारिवारिक तथा सामाजिक विवाद समाधानमा प्रभावकारी भूमिका खेल्न थालेका छन् । ‘गाउँपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १९ वटा मुद्दा दर्ता भएकामा १५ वटा फर्स्योट भइसकेका छन्,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully