मध्यबिन्दु नगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शनसहित नगर प्रमुख भीमलाल अधिकारीलाई बुझाइयो ज्ञापन–पत्र ।
नवलपुर — पूर्वी नवलपरासीमा भूमिहीन सुकुमवासीले प्रदर्शन गरेका छन् । जिल्लाको मध्यबिन्दु नगरपालिका चोरमारामा प्रदर्शन गर्दै भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासीले भूमि र आवासको अधिकार सुनिश्चित गर, उठिबास बन्द गर लगायतका नारा लगाउँदै सोमबार विरोध प्रदर्शन गरेका हुन् ।
वर्तमान सरकारले वर्षौंदेखि भूमिहीन र सुकुमवासीले आश्रय लिइरहेको स्थानमा डोजर चलाउने तथा घरबारविहीन बनाउने काम गरिरहेको भन्दै सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए ।
मध्यबिन्दु नगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शनसहित नगर प्रमुख भीमलाल अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख अधिकारीले सुकुमवासी, अव्यवस्थित र भूमिहीनलाई लालपुर्जा प्रदान गर्ने काम भइरहेकाले वास्तविक सुकुमवासी र भूमिहीनलाई घरबारविहीन नबनाउने प्रतिबद्धता व्यक्त गरे ।
