हिरक महोत्सवको अवसरमा पहिलो पटक मनास्लु हिमाल आरोहण गर्ने आरोहीको सालिक पनि अनावरण गरिएको छ ।
सामागाउँ, गोरखा — मनास्लु हिमालको पहिलो पटक सफल आरोहण गर्ने आरोहीका परिवारलाई सम्मान गरिएको छ ।
चुमनुव्री–१ सामागाउँमा शनिबार मनास्लुको हिरक महोत्सव (मनास्लु प्लाटिनम जुबिली उत्सव) को अवसरमा ८,१६३ मिटर उचाइको मनास्लुको सफल आरोहण भएको ७० औं वार्षिकोत्सवको अवसरमा जापानिज नागरिक तोसियो इमानिसी र नेपाली ओर्गेन शेर्पाका परिवारलाई सम्मान गरिएको हो ।
इमानिसीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए । सोही अवसरमा प्रत्येक वर्ष मे ९ मा मनास्लु दिवसको रुपमा मनाउने गरिन्छ ।
शनिबार मनास्लुको हिरक महोत्सवको अवसरमा जापानीज इमानिसीका छोरा कुविओ इमानिसी र नेपाली आरोही ओर्गेन शेर्पाका छोरा छिरी शेर्पालाई सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई सम्मान गरेका हुन् ।
आफ्ना पिता तोसियो इमानिसीले मनास्लु हिमालको आरोहण एउटा ऐतिहासिक क्षण रहेको उनका छोरा कुविओ इमानिसीले बताए । ‘७० वर्षअघि अहिले जस्तो पूर्वाधारको विकास पनि थिएन, काठमाडौंबाट पैदल हिँडेर आउनुपर्थ्यो,’ उनले भने,‘त्यो समयमा यस ठाउँमा हिमाल चढ्न आउनु भएका पितालाई तपाईंहरुले गर्नुभएको सहयोग निकै ठूलो थियो, आज यो कार्यक्रममा सहभागी हुन पाउँदा म निकै खुसी पनि छु ।’
महोत्सवको अवसरमा मनास्लु हिमालको सफल आरोहण गर्ने सामागाउँका स्थानीयवासीलाई पनि सम्मान गरिएको छ । मिङमार छिरिङ लामा, नाङ्साल छोडेन लामा, डिकी ल्हामु लामा र छिरिङ डिकी लामालाई सम्मान गरिएको हो । पर्यटन व्यवसायी वीरबहादुर लामा र लाक्पा डुन्डुप लामा, क्यान नेपाल र हेल्प नेपाललाई पनि सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।
चुमनुव्री–१ सामागाउँमा तोशियो इमानिसी र उर्केन छिरिङ शेर्पाको सालिक पनि अनावरण गरिएको छ । महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मनास्लुलगायत सडक मार्ग विस्तार भएको पर्यटकीय पदमार्गमा वैकल्पिक पदमार्ग बनाउन जोड गर्नुपर्ने बताए । ‘मोटरबाटो विस्तार भएको ठाउँमा वैकल्पिक पदमार्ग बनाउन प्रयास भइरहेको छ,’ उनले भने । मनाङ, मुस्ताङ र गोरखाको उपल्लो क्षेत्रलाई विशेष संरक्षित क्षेत्रको रुपमा विकास गरेर अघि बढ्नुपर्ने पनि उनले बताए ।
