वैशाख महिनाभित्र गोरखा–२ का सबै गाउँ घुमेर मतदाताको समस्या बुझ्ने बुर्लाकोटीको दाबी ।
गोरखा — मतदाताका समस्या बुझ्न गोरखा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटी अहिले गाउँगाउँ डुलिरहेका छन् । गोरखा–२ अन्तर्गतका सबै पालिकाका ग्रामीण क्षेत्रमा पुगेर बुर्लाकोटीले स्थानीयसँग भेटघाट गरिरहेका हुन् । ‘मतदातालाई धन्यवाद दिने, उहाँहरूका समस्या सुन्ने, तत्काल समाधान गर्न सकिने भए सहजीकरण पनि गरेको छु,’ उनले भने ।
आइतबार पालुङटार–९ का मतदातासँग भेटघाटमा व्यस्त बनेका बुर्लाकोटी सोमबार पालुङटार–६, ७, ३ र २ नम्वर वडाका गाउँ पुगेर मतदातासँग अन्तरक्रियामा व्यस्त थिए । ‘मतदाताले पूर्वाधार विकासका कुराहरू राख्नुभएको छ, टेलिफोन टावरको समस्यादेखि बाटो, खानेपानी र पुल निर्माणका विषय स्थानीयको माग छ,’ उनले भने । पालुङटारको तुरतुरे–राधाकृष्ण मन्दिर सडक खण्ड र मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक निर्माणलाई गति दिन माग गरेको सांसद बुर्लाकोटीले सुनाए ।
राष्टि्रय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री समेत रहेका बुर्लाकोटीले निर्वाचिनपछि गोरखा–२ अन्तर्गत अजिरकोट, वारपाक, सुलिकोट गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग अन्तरक्रिया गरिसकेका छन् । ‘गोरखा–२ मा ६ सय ३८ वटा गाउँ छन्, सबै गाउँ पुग्न नसकिए पनि पालिकाका मुख्य/मुख्य ठाउँमा वैशाखभित्र पुग्ने योजनामा छु,’ उनले भने, ‘मतदाताका गुनासो सुन्ने, तत्कालै समाधान हुने भए समाधानको प्रयास पनि गर्ने गरेको छु ।’ पालुङटार–७ मा सहरी विकास मन्त्रालयले बनाएको प्रयोगविहीन भवनलाई प्रयोगमा ल्याउन पनि यहाँका स्थानीयले माग गरेको उनले सुनाए ।
सोमबार नै बुर्लाकोटीले आँपपीपल अस्पतालको पनि अवलोकन गरेका छन् । अस्पताल सेवा विस्तार तथा व्यवस्थापनका विषयमा उनले चासो राखेका थिए ।
