पालुङटार नगरपालिकाले १५ दिनभित्र सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना हटाउन आग्रह गर्दै नगरपालिकाले हटाउनु पर्ने अवस्था आए हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी दिएको छ ।
What you should know
गोरखा — जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक जग्गामा बनेका व्यक्तिका घरटहरा एवं संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ । कार्यालयले मालपोत कार्यालय तथा ११ वटै स्थानीय तहलाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा त्यसको अभिलेख पठाउन आग्रह गरेको हो ।
सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्यका लागि सरकारी तथा सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन माग गरिएको हो ।
पालुङटार नगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना तत्काल हटाउन आग्रह गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले केही ठाउँका सार्वजनिक जग्गामा व्याक्तिहरूले अतिक्रमण गरी भोगचलन गर्दै आएको गुनासो आएको बताएको हो ।
८ बैशाखको कार्यपालिका बैठक तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको बैठकले नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गा, नदीखोलाको वहब क्षेत्रको जग्गा, सरकारी जग्गा तथा ऐलानी/पर्ती जग्गामा अनुमति विना निर्माण गरिएका संरचना हटाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा नगरपालिकाले १५ दिनभित्र यस्ता संरचना हटाउन आग्रह गरेको हो । अवज्ञा गरी संरचना नहटाए प्रचलित कानुन बमोजिम नगरपालिकाले नै हटाउने पनि जनाइएको छ । नगरपालिकाले हटाउनु पर्ने अवस्था आए हटाउँदा लागेको खर्च सम्बन्धित व्याक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी दिइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार सार्वजनिक ऐलानी/पर्ती जग्गा र सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण गर्ने कार्य स्थानीय सरकारको दायित्व अन्तर्गत रहने कानुनी व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ ।
गोरखा नगरपालिका–१० को वडा कार्यालयले पनि वडा क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती तथा सरकारी जग्गाहरू विभिन्न व्यक्ति वा समूहबाट अतिक्रमण भइरहेको जनगुनासो बढेपछि सरकारी र सार्वजनिक जग्गाको खोजी थालेको छ । आफ्नो टोलभित्र रहेका सार्वजनिक जग्गा, चौतारा, बाटो कुलो, पानीको मुहान वा सरकारी जग्गाको विवरण, यस्ता जग्गाहरू अतिक्रमण गरी व्यक्तिगत संरचना घर टहरा पर्खाल वनाइएको वा भोगचनल गरिरहेको भए सो को विवरण, अतिक्रमण भएको जग्गाको अनुमानित क्षेत्रफल र अतिक्रमण गर्ने व्याक्तिको नाम उपलब्ध गराउन वडा कार्यालयले टोल संस्थासँग आग्रह गरेको छ ।
