मनाङमा यार्चागुम्बा टिप्न सुरू :  नार र फुमा बाहिरी नागरिकलाई प्रतिबन्ध

एक्यापका अनुसार संकलकबाट अधिकतम ३५ हजार रुपैयाँसम्म पुर्जी शुल्क लिन पाइने व्यवस्था गरिएको छ । खरिदकर्ताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

वैशाख १८, २०८३

आश गुरुङ

Yarchagumba picking begins in Manang: Ban on outsiders in Nar and Phuma

लमजुङ — हिमाली जिल्ला मनाङमा बहुमूल्य जडिबुटी यार्चागुम्बा संकलन कार्य सुरू भएको छ । यस वर्षको संकलन नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको सीमा क्षेत्र न्हाम्ग्या खर्क (नाम्ग्या लेक) बाट थालिएको हो ।

नाम्ग्या खर्क नासों र नार्पाभूमिको सीमा क्षेत्र भएकाले यहाँ छुट्टै व्यवस्थापन उपसमिति गठन गरेर यार्चा संकलनका लागि व्यवस्थापन गरिँदै आएको छ । नासों गाउँपालिका–८ का वडाध्यक्ष समेत रहेका याद घलेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

उनका अनुसार बुधबारदेखि पुर्जी वितरण गरी संकलन कार्य सुरू गरिएको छ । बुधबार र बिहीबार गरी एक सयभन्दा बढी संकलक लेकमा पुगिसकेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाभित्रका नागरिकलाई प्रतिव्यक्ति १२ हजार रुपैयाँ र बाहिरी जिल्लाका व्यक्तिलाई १७ हजार रुपैयाँ शुल्क लिएर पुर्जी दिइएको उनले बताए । चामे गाउँपालिका–३ कोतोमा बसेर समितिले पुर्जी काट्ने र संकलकलाई परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

संकलन क्षेत्रमा जाँडरक्सी सेवन, जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ । धुपीलगायतका बोटबिरुवा काट्नसमेत रोक लगाइएको घलेले बताए । कोतोबाट यार्चागुम्बा पाइने खर्कसम्म पुग्न कम्तीमा एक दिन लाग्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६ तथा यार्चागुम्बु संकलन तथा ओसारपसार निर्देशिका २०८० अनुसार मनाङको हकमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयबाट अनुमति लिएपछि मात्र जडिबुटी संकलन गर्न पाइने व्यवस्था छ । सोहीअनुसार संरक्षण व्यवस्थापन समितिले आफ्नो कार्यक्षेत्रभित्र संकलकलाई पुर्जी दिन पाउनेछन् ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार समितिले आफ्नो कार्यक्षेत्रमा जडिबुटी संकलनका लागि अनुमति लिने गर्छन् । संकलनको जिम्मा कस्लाई दिने वा नदिने भन्ने निर्णय सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिले गर्ने उनले बताए । उनका अनुसार कार्यालयबाट अनुमति लिएपछिमात्रै जडिबुटी संकलनको बाटो खुल्छ ।

उनका अनुसार चैत २० गते आयोजित कार्यक्रममा यार्चागुम्बा संकलन कार्यलाई सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरिएको थियो । प्रारम्भमा नाम्ग्या खर्कमा अनुमति दिइएको र यसको व्यवस्थापन नार र ताचैका उपसमितिले संयुक्त रुपमा गरिरहेको उनले बताए ।

केही दिनभित्रै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ र त्यसपछि वडा नं. ४, ६ र ८ मा पर्ने मनाङ र टंकी मनाङ क्षेत्रका लेकमा पनि अनुमति दिइने उनले जानकारी दिए । उनका अनुसार मनाङभर १३ वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति सक्रिय रहेको र यिनैले संरक्षण तथा संकलनको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, धादिङ साथै रुकुम–रोल्पाका मानिसहरू समेत यार्चागुम्बु संकलनका लागि मनाङ पुग्ने गर्छन् । तर, नार्पाभूमि गाउँपालिकाका खर्कहरुमा भने बाहिरी व्यक्तिलाई प्रतिबन्ध लगाइएको छ । स्रोतका अनुसार नार (नार्पाभूमि गाउँपालिका १–३) र फु (नार्पाभूमि गाउँपालिका ४–५) गाउँका नागरिकले आ–आफ्नो लेकमा आफैं संकलन गर्ने र जिल्लाभित्रकै भए पनि बाहिरी व्यक्तिलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले नार र फु क्षेत्रमा जेठको तेस्रो सातादेखि यार्चा संकलन सुरु हुने बताए । ‘म काठमाडौं थिएँ । फु गाउँको लेकमा फु गाउँलेले मात्रै टिप्ने र नार गाउँको लेकमा नार गाउँलेले मात्रै टिप्ने भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘गाउँलेले निर्णय गरेको भन्ने सुनिएको छ, म जाँदैछु, यथार्थ बुझ्नेछु । यो निर्णय संरक्षण क्षेत्र व्यवस्थापन उपसमितिले गर्ने भएकाले बुझ्न बाँकी छ ।’

Yarchagumba picking begins in Manang: Ban on outsiders in Nar and Phuma

उनका अनुसार नार र फु क्षेत्रमा यार्चागुम्बाको उत्पादन पनि कम छ । बाहिरी संकलक आउँदा सुरक्षा चुनौती र विकृति–विसंगति बढ्ने भएकाले यस्तो निर्णय गरिएको हुन सक्ने उनले बताए ।

यसअघि २०६६ सालमा नार क्षेत्रमा ७ जना गोर्खालीको हत्या भएपछि बाहिरी जिल्लाका नागरिकलाई यार्चागुम्बा संकलनमा स्थानीयले प्रतिबन्ध लगाउँदै आएका थिए । २०७९ देखि मनाङमा बसोबास गर्ने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिँदै आएको थियो । यसपटक भने झन् कडाइका साथ पालिकाभित्रकै नागरिक पनि एक अर्काको लेकमा जान प्रतिबन्ध लगाइएको छ । नार र फु क्षेत्र संरक्षित तथा निषेधित क्षेत्र भएकाले विगतजस्तो अप्रिय घटना दोहोरिन नदिन कडाइ गरिएको स्थानीय स्रोतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले यार्चागुम्बा संकलन कार्यलाई व्यवस्थित बनाउन जोखिम न्यूनीकरणका उपाय अपनाउने निर्णय भइसकेको बताए । ‘स्थानीय तह, एक्याप र सरोकारवालाबीचको सहकार्यमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर संकलन गरिनेछ,’ उनले भने ।

एक्यापका अनुसार संकलकबाट अधिकतम ३५ हजार रुपैयाँसम्म पुर्जी शुल्क लिन पाइने व्यवस्था गरिएको छ । खरिदकर्ताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । संरक्षणका दृष्टिले ९० प्रतिशत मात्रै यार्चागुम्बा संकलन गर्न पाइने जिल्ला स्तरीय निर्णय गरिएको उनले बताए ।

मनाङका ४ स्थानीय तहमध्ये नासों गाउँपालिका–३ धारापानी र वडा नं. ५ थोंचेबाहेक अधिकांश लेक क्षेत्रमा यार्चागुम्बा पाइन्छ । जिल्लाभर २५ भन्दा बढी लेकमा यार्चागुम्बु पाइने एक्यापले जनाएको छ ।

एक्यापका अनुसार संघीय सरकारले यार्चागुम्बु प्रतिकिलो ३१ हजार रुपैयाँ राजस्व लिने गरेको छ । स्थानीय तह र समितिले प्रतिकिलो १०/१० हजार रुपैयाँ शुल्क उठाउने गरेका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा मनाङबाट ११२ दशमलव ६९३ किलोग्राम यार्चागुम्बा संकलन भएको थियो । यसबाट संघीय सरकारको खातामा ३४ लाख ८५ हजार ९० रुपैयाँ, स्थानीय तहमा ११ लाख २८ हजार २ सय रुपैयाँ र संरक्षण क्षेत्र व्यवस्थापन समितिमा ११ लाख ३३ हजार २ सय रुपैयाँ जम्मा भएको थियो । गतवर्ष बजारमा यार्चागुम्बाको मूल्य प्रतिकिलो २० लाख रुपैयाँसम्म थियो ।

गत वर्ष १ हजार ५ सय २४ जनाले यार्चागुम्बा संकलनका लागि पुर्जी लिएका थिए । जसमध्ये १ हजार ३६ जना बाहिरी जिल्लाका र ४ सय ८८ जना स्थानीय थिए । बाहिरी संकलकबाट १० हजारदेखि ३५ हजार रुपैयाँसम्म र स्थानीयबाट ५ हजार रुपैयाँसम्म पुर्जीबापत शुल्क लिइएको थियो ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully