सहकारीका सुरक्षा गार्डमाथि आक्रमण गर्ने दुईजना पक्राउ

६ बैशाखमा आरुघाट गाउँपालिका–१० मंगलटारमा रहेको सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ढोकामा लगाइएको ताला तोडेर सहकारी संस्थाभित्र प्रवेश गरी उनीहरूले सुरक्षागार्ड छविलाल ढकाललाई आक्रमण गरेका थिए ।

वैशाख १७, २०८३

हरिराम उप्रेती

Two arrested for attacking cooperative security guard

गोरखा — सहकारी संस्था चोरी गर्ने उदेश्यले सहकारीका सुरक्षा गार्डमाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरुघाट गाउँपालिका–१० घर भइ चितवन भरतपुर महानगरपालिका–११ कमलामाई बस्ने ४२ वर्षीय अम्बिर ढकाल र बाग्लुङको काठेखोला गाउापालिका–३ घर भइ नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने ३९ वर्षीय पदमबहादुर भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले बताए । चितवन र नवलपरासी प्रहरीसँग समन्वय गरेर उनीहरूलाई पक्राउ गरिएको हो । 

६ बैशाखमा आरुघाट गाउँपालिका–१० मंगलटारमा रहेको सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ढोकामा लगाइएको ताला तोडेर सहकारी संस्थाभित्र प्रवेश गरी उनीहरूले सुरक्षागार्ड छविलाल ढकाललाई आक्रमण गरेका थिए । ‘सहकारीभित्र छिरेलगत्तै सुरक्षागार्डलाई देखेपछि उनीहरूले सुरक्षागार्डलाई नै आक्रमण भएको रहेछ,’ उनले भने, ‘सुरक्षागार्ड देखेपछि आक्रमण गरेर भागेको देखिन्छ, चोरी भने हुन पाएन ।’

फलामे रेन्चले टाउको लगायत शरीरका सवेदनशील अंगहरूमा प्रहार भएका ढकाल गम्भीर घाइते छन् । घाइते ढकालको मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पताल स्वयम्भु काठमाडौंमा उपचार भइरहेको छ ।

सहकारी संस्थाका प्रतिनिधिमार्फत ज्यान मार्ने उद्योग र चोरी उद्योग कसुरमा आएको जाहेरी दरखास्तका आधारमा आरोपितविरुद्ध म्याद थप अनुमती लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully