आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान रहेको र उनकै कारण हामी नेपालीका रूपमा परिचित भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ ।
तनहुँ —
राष्ट्रपति रामचन्द्र पौडेलले भानु जन्मस्थललाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गर्दै उनले साहित्य, संस्कृति र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउँदै यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘चुँदी रम्घालाई पर्यटन, भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान छ । भानुभक्तकै कारण हामी नेपालीका रूपमा परिचित भएका हौं । त्यसैले यस क्षेत्रलाई केवल ऐतिहासिक स्थलका रूपमा मात्र नभई जीवित सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नुपर्छ ।’
यस्तै, भानु साहित्य उद्यान निर्माणसँगै यस क्षेत्रलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताउँदै उनले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तनहुँ–२ का सांसद श्रीराम न्यौपाने र गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले भानु साहित्य उद्यानका कारण यस क्षेत्रमा साहित्यिक पर्यटनको विकास हुने बताए ।
स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
