हरित पर्यटनमा सहकार्य गर्ने पोखरा पर्यटन परिषद् र चिनियाँ संस्थाबीच सहमति

कार्बन तटस्थता र हरित पर्यटनमा संयुक्त काम गर्ने सहमति, पोखरालाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्य बनाउने लक्ष्य ।

वैशाख १३, २०८३

दीपक परियार

Pokhara Tourism Council and Chinese organization sign agreement to collaborate on green tourism

What you should know

पोखरा — कार्बन उत्सर्जन कम गरी हरित पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न पोखरा पर्यटन परिषद् र चीनको कार्बन तटस्था प्रविधि विकासका लागि सान्छी संघबीच आइतबार सहमति भएको छ । हरित र दिगो पर्यटनको क्षेत्रमा सहकार्य गर्न पोखरामा संस्थागत सम्बन्ध स्थापनाको पत्र आदान–प्रदान भएको हो । परिषद्का अध्यक्ष तारानाथ पहारी र सान्छी संघका प्रतिनिधि वु चाउले सहमति पत्र आदान–प्रदान गरे ।

दुई संस्थाबीचको सहकार्यमा कार्बन तटस्थता र हरित विकासमा चीनको परिपक्व अनुभव पोखराको स्थानीय अवस्थासँग जोड्ने, न्यून–कार्बन होटल र पर्यटन पूर्वाधारको विकास, हरित कृषि उत्पादनको प्रमाणीकरण र मूल्य अभिवृद्धि, पोखरामा चिनियाँ मसला पसलको स्थापना र दुई संस्थाबीच नियमित सम्पर्कको प्रबन्धलगायत विषय समेटिएका छन् । यी सबै प्रस्तावलाई स्वीकार गर्दै भविष्यमा विस्तृत कार्ययोजना तयार गरी अन्तिम सम्झौता गर्ने प्रतिबद्धता दुई संस्थाले गरेका छन् । कार्बन तटस्थता, दिगो पर्यटन र पर्यावरणमैत्री विकासको साझा दृष्टिकोणका आधारमा स्थापित यो साझेदारीले पोखरालाई अन्तर्राष्ट्रिय हरित पर्यटन मानचित्रमा थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यो साझेदारीलाई पोखराको पर्यटन विकासको नयाँ अध्यायका रूपमा व्याख्या गरे । ‘सान्छी संघसँगको यो सहकार्यले पोखरालाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्ने हाम्रो सपनालाई मूर्त रूप दिन्छ,’ उनले भने, ‘कार्बन तटस्थता र पर्यावरणमैत्री पर्यटनका क्षेत्रमा चीनको परिपक्व अनुभव र प्रविधि पोखराका लागि अमूल्य हुनेछ ।’

परिषद्का महासचिव जीवनराज सापकोटाले यो सम्बन्ध स्थापना दुई संस्थाबीच लामो छलफल र समन्वयको सफल परिणति भएको बताए । ‘यो मात्र एउटा पत्र आदान–प्रदान होइन, यो पोखराको हरित भविष्यको जग हो,’ उनले भने, ‘हामी अब ठोस कार्ययोजना बनाएर वास्तविक काम थाल्छौं ।’

सान्छी संघका प्रतिनिधि वु चाउले पोखरालाई नेपालको पर्यटन रत्नको रूपमा सम्मान गर्दै आएको बताए । ‘चीन र नेपालबीच जलवायु परिवर्तनको सामना गर्ने र हरित विकास प्रवर्द्धन गर्ने साझा दृष्टिकोण छ,’ उनले भने, ‘हामी पोखराको स्थानीय परिवेशसँग मेल खाने गरी चीनका सफल प्रविधि र अनुभवहरू यहाँ ल्याउन उत्साहित छौं ।’

उनका अनुसार सन् २०२४ मा स्थापित सान्छी संघमा १ सय ५० भन्दा बढी सदस्य संस्था आबद्ध छन् । ऊर्जा, वातावरण संरक्षण र उच्चस्तरीय उत्पादन क्षेत्रका अग्रणी उद्योग तथा वैज्ञानिक अनुसन्धान संस्थाहरू समेटिएको यो संघले कार्बन तटस्थता नीति अनुसन्धान, हरित वित्त र अन्तर्राष्ट्रिय आदानप्रदानमा अनुभव बोकेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले यो साझेदारी नेपालको हरित पर्यटन नीतिसँग मेल खाएको भन्दै स्वागत गरे । उनले थपे, ‘कार्बन न्युट्रल पर्यटनको अवधारणामा यो साझेदारीले ठोस टेवा पुर्‍याउनेछ । अन्तर्राष्ट्रिय संस्थाको प्रविधि र लगानी भित्र्याउनु हाम्रो साझा प्राथमिकता हो ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully