ठाडो भाकामा लमजुङका मानसिंह दुराको समूह पहिलो

शुक्रबार र शनिबार भएको प्रतियोगितामा पहिलो बनेको दुराको समूहले नगद ८० हजार पुरस्कार पाएको छ ।

वैशाख १३, २०८३

हरिराम उप्रेती

Mansingh Dura's group from Lamjung wins first place in the vertical bhaka

गोरखा — गोरखा नगरपालिका–६ रानीपोखरीमा भएको खुल्ला ठाडो भाका प्रतियोगितामा लमजुङ सुन्दरबजार–११ ठूलोस्वाँराका मानसिंह दुरा नेतृत्वको समूह पहिलो भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा पहिलो बनेको दुराको समूहले नगद ८० हजार पुरस्कार पाएको छ । 

त्यस्तै दुधपोखरी–२ का डम्मर घले नेतृत्वको समूह दोस्रो भएर ५० हजार नगद प्राप्त गरेको छ । लमजुङकै रमना भण्डारी समूह र लमजुङ लोककला प्रतिष्ठान तेस्रो बनेर २०/२० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजक ठाडो भाका संरक्षण तथा प्रबर्द्धन समितिका अध्यक्ष पृथ्वी गुरुङले बताए । 

प्रतियोगितामा १५ समूहको सहभागीता रहेको थियो । प्रतियोगिताको अवसरमा अग्रज कलाकार विष्णु माया गुरुङ, कृष्ण परियार र चिजा तामाङलाई पनि सम्मान गरिएको थियो । 

अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीले ठाडो भाकामार्फत मेलापात, देउराली भञ्ज्याङ, वनपाखा, खेतबारी, युवायुवतीको भावनात्मक तथा सामाजिक सम्बन्धका अनेकौं पक्षहरुलाई समेटेर आफ्नो कला प्रस्तुत गरेका थिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully