सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

महानगरले एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको हो ।

वैशाख ११, २०८३

दीपक परियार

Pokhara Metropolitan City issues 35-day ultimatum to remove structures built encroaching on public land

पोखरा — पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको हो ।

महानगर कार्यपालिकाको ३ वैशाखको निर्णयानुसार यो सूचना जारी गरिएको हो । लामो समयदेखि सार्वजनिक जग्गा मिचेर विभिन्न व्यक्ति तथा संस्थाहरूले कार्यालय सञ्चालन गर्ने, भवन बनाएर भाडामा लगाउने र पर्खाल घेरेर निजी बनाउने गरेको जनगुनासो आएपछि महानगरले यस्तो कदम चालेको जनाएको छ । 

'सार्वजनिक जग्गा संरक्षणमा ऐक्यवद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैं खाली गर्न वा हटाउन सूचित गरिन्छ,' महानगरद्वारा ४ वैशाखमा जारी सूचनामा उल्लेख छ।

महानगरका अनुसार विभिन्न स्थानमा पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गरी व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगर आफैंले कानुनी प्रक्रिया बमोजिम हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुल गर्ने संकेत गरेको छ ।

महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । पोखरामा पछिल्लो समय सार्वजनिक जग्गा र फेवाताललगायतका खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully