टोली नेता तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङका अनुसार गुरुङ जातिको आदिमथलो, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक उद्गमस्थलका रूपमा मानिँदै आएको क्होला सोँप्रे ट्होको यथार्थ पहिचान, अनुसन्धान र संरक्षणको उद्देश्यले अध्ययन–अवलोकन भ्रमण थालिएको हो ।
लमजुङ — बेलायतबाट आएको तमू प्ये ल्हु संघ यूकेको टोली गुरुङ जातिको आदिम थलो मानिएको क्व्होलासोथार (क्होला सोँप्रे ट्हो) को अध्ययन अनुसन्धान भ्रमणमा निस्किएका छन् ।
पोखराबाट आइतबार साँझ लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङ पुगेको टोली सोमबार बिहान क्व्होलासोथारतर्फ गएका हुन् । लमजुङ र कास्कीको सीमावर्ती क्षेत्र क्व्होलासोथार उनीहरू बुधबार पुग्नेछन् ।
टोली नेता तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङका अनुसार गुरुङ जातिको आदिमथलो, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक उद्गमस्थलका रूपमा मानिँदै आएको क्होला सोँप्रे ट्होको यथार्थ पहिचान, अनुसन्धान र संरक्षणको उद्देश्यले अध्ययन–अवलोकन भ्रमण थालिएको हो ।
आइतबार तमू प्ये ल्हु संघ (फलिना क्होइँबो) पोखराबाट लमजुङतर्फ आएको टोलीले बेंसीसहर, घलेगाउँ र भुजुङको क्होइँबोको भ्रमणसहित तमु प्ये ल्हु संघको टोलीलाई भेटघाट गरेको थियो । अध्यक्ष गुरुङका अनुसार संघको २३ जना, भरिया र अन्य गरी करिव ५० जनाको टोली भ्रमण टिममा छन् । उनीहरू सोमबार भुजुङ क्षेत्रको ङ्हसीखोँ पुग्ने र मंगलबार क्व्होला सोँप्रे ट्हो पुग्ने उनले बताए । बुधबार उनीहरूले उनीहरूले सिमेभूमे, सिल्दोनाल्दो र पितृ–पुर्खाको पूजापाठ गरी आशीर्वाद लिने कार्यक्रम छ । भ्रमणमा निस्कनुअघि उनीहरूले पोखरामा छ्योप लब (शुभ साइतको पूजा) गरेका थिए ।
संघका सचिव भेगलाल गुरुङले क्होला सोँप्रे ट्होको ऐतिहासिक तथा सांस्कृतिक पक्षको गहिरो अध्ययन, सम्भावित उत्खनन र त्यसको आधिकारिक अभिलेखीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘क्व्होला सोँप्रे ट्होको गहिरो अध्ययन आवश्यक छ । यस स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ । यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी महल गर्नेछौं’ उनले भने ।
संघका पूर्वअध्यक्ष सोमबहादुर गुरुङ (सोम त्होर्जे तमु) ले क्व्होला सोँप्रे ट्होको भ्रमणबारे ऐतिहासिकता झल्किने वृत्तचित्र निर्माण समेत गरिने बताए । उनका अनुसार खेगी गुरु (गुरुङ पुरोहित) हरूबाट संकलित मौखिक इतिहास, मिथक र परम्परागत ज्ञानलाई समेटेर ‘क्होला सोँप्रे ट्हो दर्पण’ पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले बताए ।
यसबाट यस थलोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारसमक्ष पहल गर्न थप सहयोग पुग्नेछ । उनका अनुसार टोली बिहीबार कास्कीको सिक्लेस पुग्ने र शुक्रबार (वैशाख ११ गते) पोखरा पुग्ने कार्यक्रम रहेको छ ।
