अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहनका लागि प्रतियोगिताले सघाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गोरखा — वैशाख ११ र १२ गते गोरखा नगरपालिका–६ रानीपोखरीमा खुला ठाडो भाका प्रतियोगिता हुने भएको छ ।
ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा मौलिक ठाडो भाकालाई राष्ट्रियस्तरसम्म परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने प्रतियोगितमा गोरखासहित लमजुङ, तनहुँ र कास्कीका १५ भन्दा बढी टिमको सहभागिता रहने ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी दिए ।
अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहनका लागि प्रतियोगिताले सघाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पहिलो बन्ने टिमले ८० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र उत्कृष्टलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक टिममा ६/६ जना रहने पनि गुरुङले जानकारी दिए ।
ठाडो भाका गण्डकी प्रदेशअन्तर्गत गोरखा, लमजुङ, कास्की, तनहुँ लगायतका पहाडी भेगका गाउँघरमा प्रचलित मौलिक लोकसंगीतको शैली हो । ठाडो भाकामार्फत नेपाली समाजको जीवनशैली, संस्कार, माया पिरती, हाँसो–दुःख, प्रकृति तथा गाउँले जनजीवनका विविध पक्षलाई जीवन्त रूपमा अभिव्यक्त गरिन्छ ।
ठाडो भाकामा मेलापात, देउराली भञ्ज्याङ, वनपाखा, खेतबारी, युवकयुवतीको भावनात्मक सम्बन्ध तथा सामाजिक सम्बन्धका अनेकाैं पक्षलाई समेटिएको हुन्छ । प्रतियोगिताले नयाँ पुस्ताका प्रतिभाशाली कलाकारलाई ठाडो भाका सिक्न, गाउन र अगाडि बढ्न पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
