लमजुङका आधा पालिकाका विद्यालयले वैसाख १० बाट पढाइ थाल्ने

लमजुङका स्थानीय तहहरुले शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालनको समयतालिका बनाएर विद्यालयहरुमा सर्कुलर गरेका छन् ।

वैशाख ६, २०८३

आश गुरुङ

Schools in half of Lamjung municipalities to resume classes from Baisakh 10

What you should know

लमजुङ — शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिक सत्र वैसाख १५ बाट सुरु गर्न निर्देशन दिए पनि लमजुङका स्थानीय तहहरुले वैसाख १० बाट पठनपाठन सञ्चालन गर्ने भएका छन् ।

संविधान अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन स्थानीय तहको अधिकारभित्र पर्ने भन्दै केन्द्रीय निर्देशनअगावै पठनपाठन थाल्ने स्थानीय तहहरुले जनाएका छन् ।

लमजुङका स्थानीय तहहरुले शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालनको समयतालिका बनाएर विद्यालयहरुमा सर्कुलर गरेका छन् ।

बेंसीसहर नगरपालिकाले सूचना जारी गर्दै वैसाख ७ देखि ९ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । प्रधानाध्यापकहरुको राय सुझावका आधारमा बे‌ंसीसहर नगर शिक्षा समितिले निर्णय गरेर शैक्षिक सत्र २०८३ को नियमित पठनपाठन वैसाख १० देखि सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

सुन्दरबजार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिक सत्र २०८३ को पठनपाठन वैसाख १० देखि सञ्चालन गर्न जनाएको छ । वैसाख ३ देखि ६ सम्म विद्यालयहरुले वार्षिक कार्यतालिका निर्माण, विद्यालय सुधार योजना तयारी, शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम निर्धारण तथा सरोकारवालासँग समन्वय बैठक बस्ने जनाएको छ ।

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा वैसाख ७ देखि औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैसाख १० देखि नियमित पठनपाठन सुरु गरिने जनाइएको छ ।

मध्यनेपाल नगरपालिकाले पनि वैसाख १० देखि पालिकाभित्रका सबै विद्यालयमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ लाई व्यवस्थित रुपमा सञ्चालन गर्ने भन्दै वैसाख ७ बाट भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख रमेशकुमार पाण्डेका अनुसार न्यून विद्यार्थी भई बन्दहुने अवस्थामा पुगेका विद्यालयहरुले वैसाख २५ भित्र नजिकको विद्यालयमा मर्ज हुने निर्णयसहित आवश्यक कागजात नगरपालिकामा पेश गर्नुपर्ने निर्णय समेत गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकामा भने वैसाख १४ देखि पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार वैसाख ७ देखि विद्यार्थी भर्ना कार्यक्रम तथा घरदैलो अभियानसँगै पाठ्यपुस्तक वितरण सुरु गरिनेछ । अभिभावकसँग समन्वय सहज बनाउन बिहान र बेलुका घरदैलो अभियान सञ्चालन गरिने उनले बताए ।

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको संयुक्त बैठकबाट विद्यार्थी सिकाइ सुधारसम्बन्धी योजना वैसाख ८ र ९ मा निर्माण गरिने उनले बताए । वार्षिक कार्यतालिका तथा शैक्षिक योजना निर्माण गरी शिक्षकहरुले पाठयोजना तयार गर्ने काम वैसाख १० र ११ सम्म सक्ने उनले बताए ।

लमजुङमा ८ वटा स्थानीय तह रहेकोमा चार पालिकाले औपचारिक रुपमा भर्ना अभियान र नियमित पठनपाठनबारेको सूचना सार्वजनिक गरेको छैन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) लमजुङका अध्यक्ष ईश्वर पौडेलले स्थानीय तहको निर्णय अनुसार भर्ना र नियमित पठनपाठन सुरु गरिने बताए । ‘धेरैजसो स्थानीय तहमा वैसाख ७ बाट भर्ना अभियान सुरु गर्ने र १० देखि नियमित पठनपाठन सुरु गर्ने भनिएको छ । हामीले आफ्ना सदस्य विद्यालयलाई त्यही सर्कुरल गरेका छौं,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully