पालुङटार नगरपालिका–९ धुँवाकोट र मिरकोट तथा पौवाटारलगायतका क्षेत्रको दर्जनभन्दा बढी घरगोठको छाना उडाएको प्रहरीले जनाएको छ ।
गोरखा — हावाहुरीले पालुङटार नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी घरको छाना उडाएको छ । आइतबार साँझ असिना, पानीसहित आएको हावाहुरीले घरको छाना उडाएको हो । पालुङटार नगरपालिका–९ धुँवाकोट र मिरकोट तथा पौवाटारलगायतका क्षेत्रको दर्जनभन्दा बढी घरगोठको छाना उडाएको प्रहरीले जनाएको छ ।
पालुङटार–९ त्रिवेणी माविको छाना पनि हावाहुरीले उडाएको शिक्षक भुवन सेडाइँले जानकारी दिए । 'ठूलो हावाहुरी आयो, विद्यालयको प्रशासनिक भवनको छाना उडाएपछि कम्प्यूटरहरुमा क्षति पुगेको छ, अहिले पानी परिरहेकाले के-कति क्षति भयो भन्ने अवलोकन गर्ने अवस्था पनि छैन,’ उनले भने, 'यहाँ धेरै स्थानीयको घर, गोठको छाना पनि उडाएको छ ।’
पालुङटार–९ क्षेत्रमा रहेका गोरेटो बाटोमा रुखहरु ढलेर आवतजावत पनि प्रभावित बनेको स्थानीयहरुले बताए। 'छाना उडाएपछि घरभित्र रहेको कतिपयको अन्नपात भिजेको छ,’ उनले भने ।
पानी पर्ने क्रम नरोकिएकाले कति क्षति भयो विवरण संकलन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै गोरखा आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–१३ स्थित पाँच किलोमा रुख ढल्दा सडक एकतर्फी बनेको छ । रुख ढलेर सडक पूर्ण रुपमा अवरुद्ध भएकोमा मझुवा देउरालीबाट खटिएको प्रहरी टोलीले सडक एकतर्फी खुल्ला गरेको हो ।
रुख पन्छाएर अहिले सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
