अरुण खोलाको पक्की पुल संचालनमा

बुटवल–नारायणगढ सडकको अरुणखोलामा ५२ वर्ष पुरानो फलामे पुलको सट्टामा बनेको नयाँ पक्की पुलबाट यातायात संचालन हुन थालेको छ ।

वैशाख ४, २०८३

नारायण शर्मा

Concrete bridge over Arun River in operation

What you should know

नवलपरासी — बिस्तारको क्रममा रहेकाे महेन्द्र राजमार्ग अन्तरगत पूर्वी नवलपरासीमा पर्ने अरुण खोलामा निर्माण गरिएको पक्की पुल शुक्रबारदेखि संचालनमा आएको छ ।

निर्माण थालिएको करिब तीन वर्षपछि पक्की पुल निर्माणको काम सकेर शुक्रबारदेखि यातायात संचालन भएको हो । सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार पुल २ सय २० मिटर लामो यो पुल निर्माणको काम बिहीबार सकिएको हो ।

बिहीबार निर्माणको काम सकेर शुक्रबार दिउँसोबाट यो पुलमा गाडी चल्न थालेको ढकालले बताए। यसअघि यहाँ ५२ वर्षअघि निर्माण गरिएको फलामे पुलबाट यातायात संचालन हुँदै आएको हो । सोही पुलको छेउमा नयाँ निर्माण गरिएको हो । 

बुटवल-नारायणगढ सडक अन्तरगत यो पुल निर्माण भएको हो । बुटवल-नारायणगढ सडकको पूर्वी र पश्चिमी खण्डमा विभाजन गरेर चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिजियरिङ कर्पोरेशनले गरिरहेको छ । अब यहाँ रहेकाे फलामे पुल हटाएर उक्त ठाउँमा अर्काे पक्की पुल निर्माणको काम गरिने छ । अब बन्ने पुलको काम बुटवल-नारायणगढ सडक योजना अन्तरगत नभइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुल महाशाखाले गर्ने छ ।

निर्मांणाधीन बुटवल-नारायणगढ सडक खण्ड अन्तर पूर्वी खण्डमा मझौला र लामा गरेर ३२ वटा पुल रहेका छन्। तीमध्ये शुक्रबार दिउँसोसम्म ३१ वटा पुल निर्माण भैसकेको छ । ती सबै पुलबट यातायात संचालनमा हुन थालिसकेकाे छ ।

पूर्वी नवलपरासीमा १२ वटा लामा पुल छन् । २० मिटर भन्दा बढी लम्बाइ रहेका पुललाई लामो पुल (मेजर ब्रिज) भनिन्छ । ती सबै निर्माण सम्पन्न भएर यातायात संचालन भैरहेको छ । यो खण्डमा २२ वटा मझौला पुल (माइनर ब्रिज) रहेका छन् । २० मिटर भन्दा सानो र १० मिटर भन्दा लामो पुललाई माइनर ब्रिज भनिन्छ ।

दाउन्ने खण्डमा मात्रै ४ वटा लामा र साना पुल निर्माणाधीन अवस्थामा छन् । पुल निर्माण भैरहेको दाउन्ने खण्ड बुटवल-नारायणगढ सडकको पश्चिमी खण्डमा पर्दछ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully