२०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ । हीरक महोत्सवका रूपमा मनाएको वार्षिकोत्सवले बहुप्राविधिक विद्यालय बनाउने निर्णयसमेत गरेको हो ।
What you should know
बागलुङ — जिल्लाको बडीगाड–२, खरबाङस्थित त्रिभुवन माविमा एक दशकदेखि बाली विज्ञान पढाइ भइरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषिसित जोड्न यस्तो विषय रोजिएको थियो । विद्यालयले यसपटकबाट सीप विकास र स्वरोजगारमूलक प्राविधिक शिक्षाको कक्षा सञ्चालन तयारी गरेको छ ।
चालु शैक्षिक सत्रबाट तीनमहिने तालिम दिएर विद्यार्थीलाई कमाउन सक्ने बनाउन लागिएको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए । ‘मावि तहका विद्यार्थीलाई अनौपचारिक प्राविधिक शिक्षामा जोड्दा स्वरोजगार बन्छन्,’ उनले भने, ‘तसर्थ, अब हरेक पालिकामा बहुप्राविधिक शिक्षा आवश्यक छ ।’
यसअघि सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राविधिक विद्यालय खोल्ने योजनाअन्तर्गत यो विद्यालय सूचीकृत छ । तर, एउटै विषयले बजार र समाजको आवश्यकता पूरा नभएको उनले बताए । बहुप्राविधिक विद्यालयका लागि सरकारले बजेट व्यवस्थापन नगरेकाले तालिम संचालन गर्न लागिएको उनले बताए । ‘युवाहरू कमाउने माध्यममा जोडिन चाहन्छन्,’ उनले भने, ‘प्राविधिक भनेको पढेर फेरि जागिरका लागि धाउने होइन, आफैं कमाउने हो ।’ शैक्षिक प्रमाणपत्रले मात्र कमाइ गर्न नसक्ने भएकाले स्वरोजगारमूलक तालिममा जोड्न लागेको उनले बताए । त्यसका लागि अटो मोवाइल्स, इलेक्ट्रिक, इलेक्ट्रोनिक्सजस्ता सीप तत्काल दिने योजना विद्यालयले बनाएको छ ।
दीर्घकालीन योजनाका लागि भने शिक्षा मन्त्रालयसँग जोडिएर थप प्राविधिक शिक्षा जोड्ने उनले बताए । सिभिल इन्जिनियरिङ लगायतका आवश्यकताका विधामा औपचारिक शिक्षा जोड्ने विद्यालयको योजना छ । गत मंसिरमा विद्यालयले महायज्ञ लगाएर झण्डै ३ करोड रुपैयाँ संकलन गरेको छ । उक्त बजेटबाट तत्काल छोटो अवधिका शिक्षा थाल्ने र राज्यको स्रोतमा जोडिएपछि दीर्घकालीन अध्यापन संचालन गर्ने भण्डारीले बताए ।
विद्यालय संचालनको कोर्स बनाउन मंसिर २१ देखि २८ गतेसम्म श्रीमद्भागवत् धनधान्यान्चल सप्ताह महायज्ञ लगाइएको थियो । उक्त समयमा संकलित रकममा अन्य दातासमेत थपेर आगामी शैक्षिक सत्रदेखि नै यो अभियान सुरु गर्ने योजना बनाइएको हो । सीटीईभीटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने तयारी भएको छ ।
२०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ । हीरक महोत्सवका रूपमा मनाएको वार्षिकोत्सवले बहुप्राविधिक विद्यालय बनाउने निर्णयसमेत गरेको हो । विद्यालयले मनाएको स्वर्ण महोत्सवमा दश वर्षअघि संकलन गरेको ८० लाख रुपैयाँबाट विद्यालयको भौतिक पूर्वाधार बनाउनुका साथै अक्षयकोषमार्फत विद्यालयमा निजी स्रोतका शिक्षक राखेर समयसापेक्ष अंग्रेजी माध्यम, कम्प्युटर ल्याब र बाली विज्ञान विषय पढाउन थालिएको थियो ।
महायज्ञमा संकलित रकमलाई अन्य दाताबाट बढाएर ५ करोडको अक्षयकोषमार्फत बहुप्राविधिक कार्यक्रम सुरु गरिने लक्ष्य राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालले सुनाए । त्यो कोषलाई सदुपयोग गर्दै बडीगाड गाउँपालिका मात्र नभइ गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको समेत आकर्षक शैक्षिक गन्तव्य बनाइनेछ । विद्यालयमा १ हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् । ५२ जना शिक्षक रहेकामा १६ जना मात्रै स्थायी दरबन्दीका छन् ।
