काँचो अदुवाको मूल्य प्रतिधार्नी १ सय ५० देखि २ सय रुपैयाँ र सुठो बनाएपछि प्रतिधार्नी ५ सयदेखि ७ सय रुपैयाँसम्ममा बिक्री हुने बुलिङ्गटार–४ का किसान बुद्धिबहादुर सारुले बताए ।
परासी — पूर्वी नवलपरासीका किसानले अदुवाको सुठो बनाएर बिक्री गर्न थालेका छन् । काँचो अदुवा बिक्री गर्दा मूल्य कम पर्ने भएकाले अदुवा पोलेर सुठो बनाउने र त्यसपछि मात्र बिक्री गर्न थालेका हुन् ।
जिल्लाको पहाडी भेग हुप्सेकोट, बौदीकाली, बुलिङ्गटार गाउँपालिकामा व्यावसायिक रुपमा अदुवा खेती हुँदै आएको छ । काँचो अदुवाको मूल्य प्रतिधार्नी १ सय ५० देखि २ सय रुपैयाँ र सुठो बनाएपछि प्रतिधार्नी ५ सयदेखि ७ सय रुपैयाँसम्ममा बिक्री हुने बुलिङ्गटार–४ का किसान बुद्धिबहादुर सारुले बताए ।
तीन वर्षअगाडिसम्म १ हजार ५ सय हेक्टरमा अदुवा खेती हुने गरेकामा अहिले ९ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अदुवा खेती हुँदै आएको छ ।
जिल्लाबाट हरेक वर्ष ३० करोड रुपैयाँभन्दा बढीको अदुवा र सुठोको कारोबार हुने कृषि ज्ञानकेन्द्रको तथ्यांक छ । पछिल्लो समय बसाइँसराइका कारण सुठो बनाउने (अदुवा पोल्ने) जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । सुठो बनाउन नसक्नेले काँचो नै बिक्री गर्ने गरेका छन् ।
